मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

थुनामुक्त आदेशलगत्तै अभिषेक गिरी पुनः पक्राउ, काठमाडौं पठाइयो

अभिषेक गिरीलाई थुनामुक्त गर्ने अदालतको आदेशपछि पुनः पक्राउ गरिएको छ। उनीमाथि कैदीबन्दीको रासन भत्ता र पारिश्रमिक असुलीको आरोप छ। अनुसन्धानका लागि गिरीलाई काठमाडौं पठाइएको छ।
Arjun Basnet
खोजमूलक पत्रकार
१ मिनेट पढाइ
आकार:
Share:
२०१

मोरङ कारागारका कैदीबन्दीको रासन भत्ता असुली आरोपमा पक्राउ परेका अभिषेक गिरीलाई जिल्ला अदालत मोरङले थुनामुक्त गरेलगत्तै पुनः पक्राउ गरिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा परेको उजुरीका आधारमा गिरीलाई पुनः पक्राउ गरी अनुसन्धानका लागि काठमाडौं पठाइएको मोरङ प्रहरी प्रमुख कोवित कटुवालले जानकारी दिए। यसअघि गिरीलाई असार १३ गते शनिबार बिहान विराटनगर–८, मधुमारास्थित उनकै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।

गिरीमाथि कारागारभित्रका कैदीबन्दीको रासन भत्ता र पारिश्रमिकमा आर्थिक शोषण गरेको उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको थियो। जिल्ला प्रहरी कार्यालय मोरङले गिरीलाई ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ मुद्दामा थप अनुसन्धानका लागि म्याद थप गर्न अदालत पेश गरेको थियो।

तर, अदालतले गिरीलाई थुनामुक्त गर्न आदेश दिए पनि उनका तीन सहयोगी सञ्जय मण्डल, विनोदकुमार सिंह र विजय कामतलाई भने आपराधिक लाभ मुद्दामा ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।

‘आपराधिक लाभ’ मुद्दामा पक्राउ परेका गिरीको म्याद सोमबार सकिँदै थियो। सोही दिन प्रहरीले थप दुई गम्भीर मुद्दामा म्याद थपको माग गरेको थियो। यसअघि असार १७ गते उच्च अदालत विराटनगरले गिरीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गर्दै प्रहरीलाई अनुसन्धानका लागि निश्चित समयसीमा तोकेको थियो।

सोमबार जिल्ला अदालतका न्यायाधीश टंकबहादुर महतको इजलासले उच्च अदालतको आदेशलाई सदर गर्दै गिरीलाई बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो।

Arjun Basnet

Arjun Basnet

खोजमूलक पत्रकार

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार