जनता समाजवादी पार्टी (जसपा) नेपालसहित सात राजनीतिक दलले काठमाडौंमा ‘अग्रगामी मोर्चा’ घोषणा गरेका छन्। शनिबार थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा आयोजित कार्यक्रममा मोर्चाको औपचारिक घोषणा गरियो। मोर्चामा जसपासहित जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल सङ्घीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल सहभागी छन्।
जनमत पार्टीका अध्यक्ष सिके राउतले देशमा संकट र अत्याचार बढेको बेला फरक राजनीतिक विचारधारा बोकेका शक्तिहरू एक ठाउँमा आएको बताए। उनले मोर्चाको मुख्य उद्देश्य संविधानवाद, संघीय लोकतान्त्रिक गणतन्त्र, लोकतान्त्रिक मूल्य-मान्यता, समानुपातिक समावेशिता, धर्मनिरपेक्षता, प्रेस स्वतन्त्रता तथा मानव अधिकारका उपलब्धिको संरक्षण गर्नु रहेको स्पष्ट पारे। ‘देश संविधानअनुसार चल्नुपर्छ, विधिसम्मत तरिकाले चल्नुपर्छ। कानुनी शासन र संविधानवाद कायम हुनुपर्छ,’ राउतले भने।
राउतले मोर्चा सत्ता प्राप्तिका लागि नभई संघर्षका लागि गठन गरिएको बताए। उनले वर्तमान सत्तामा रहेका दल तथा नेताहरूसँग आफ्नो कुर्सी खोस्ने उद्देश्य नरहेको स्पष्ट पारे। ‘यो मोर्चा संघर्षका लागि बनेको हो, सत्ता प्राप्तिका लागि हामीले गठबन्धन गरेका होइनौं,’ उनले भने, ‘कुर्सीमा बसेर चलाउनुस्, तर संविधानवादमा चल्नुस्। संघीय लोकतान्त्रिक गणतन्त्रका मूल्य-मान्यताअनुसार शासन सञ्चालन गर्नुस्।’ विगतका दशकौं लामो संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्न आफूहरू एक ठाउँमा आएको उनको भनाइ थियो।
आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले लोकतन्त्रको ‘सर्वस्वहरण’ भएको दाबी गरे। उनले वास्तविक लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा गठन गरिएको बताए। साहले वर्तमान राजनीतिक व्यवस्थाले देशलाई संकटबाट निकाल्न नसकेको भन्दै नयाँ राजनीतिक सहकार्य आवश्यक रहेको बताए। ‘फेक शासन होइन, रियल शासन चाहन्छौं,’ साहले भने, ‘हामी अहंकारयुक्त होइन, सहअस्तित्वमा आधारित नेपाल बनाउन चाहन्छौं।’
साहले मोर्चा सत्ता प्राप्ति, भागबण्डा वा सरकार बनाउने–गिराउने उद्देश्यले गठन नभएको बताए। देशको विद्यमान संकट समाधान गर्ने उद्देश्यले सात राजनीतिक शक्ति एक ठाउँमा आएको उनको भनाइ थियो। उनले अग्रगामी मोर्चाले हिमालको हित, पहाडको प्रगति र मधेसको मान बढाउने दाबी गरे। यो सहकार्य लामो समयसम्म अघि बढ्ने उनले बताए। ‘हामी धेरै हिसाब गरेर मिलेका होइनौं, देशको परिस्थितिले मिल्न बाध्य बनाएको हो,’ उनले भने, ‘यो पुरानो राजनीतिको निरन्तरता होइन, क्रमभंग हो।’
साहले विगतका गठबन्धन असफल हुनुमा नेतृत्वको इमानदारिता, वैचारिक स्पष्टता र व्यक्तिवादी प्रवृत्तिको समस्या रहेको टिप्पणी गरे। अब टुटफुट होइन, एकता र ध्रुवीकरणको राजनीति आवश्यक रहेको उनको भनाइ थियो। उनले आफूलाई नयाँ शक्ति भन्नेहरूले जनतालाई भ्रममा पारेको र मुलुकको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्था झन् दयनीय बन्दै गएको बताए। विगतका राजनीतिक आन्दोलनबाट व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा अपेक्षित सुधार आउन नसकेको उनको भनाइ थियो। ‘देश निरन्तर संकटको यात्रामा छ। २०४६ सालको आन्दोलन, जनयुद्ध र मधेस आन्दोलनका माध्यमबाट ठूलो बलिदानी त भयो, तर जनताले अपेक्षा गरेको सुखद् दिन अझै आउन सकेको छैन,’ साहले भने।
