NM Khabar 14 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

अमेरिका-इरान सैन्य भिडन्त: हर्मुज जलमार्ग बन्दको घोषणा, युद्धविराम संकटमा

अमेरिका र इरानबीच पुनः सैन्य भिडन्त सुरु भएको छ। इरानले रणनीतिक हर्मुज जलमार्ग बन्द गरेको घोषणा गरेको छ, तर अमेरिकाले जलमार्ग खुला रहेको दाबी गरेको छ। यसले गत महिना भएको अन्तरिम युद्धविराम सम्झौतालाई संकटमा पारेको छ।
Bikram Magar
Bikram Magar
13 July 2026, 5:02 am १ मिनेट पढाइ
आकार:
अमेरिका इरान भिडन्त
Share:

अमेरिकी सेनाले इरानभित्रका १४० भन्दा बढी सैन्य अखडामा आइतबार बिहान आक्रमण गरेपछि इरानले रणनीतिक हर्मुज जलमार्ग अर्को सूचना नभएसम्मका लागि बन्द गरेको घोषणा गरेको छ। यद्यपि, अमेरिकाले जलमार्ग खुला रहेको दाबी गरेको छ।

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार इरानी सेनाले साइप्रसको झन्डावाहक जहाज ‘एमभी जीएफएस ग्यालेक्सी’ मा क्रुज मिसाइल प्रहार गरेपछि अमेरिकाले जवाफी कारबाही गरेको हो। उक्त आक्रमणमा जहाजको इन्जिन कोठामा क्षति पुगेको थियो। एक चालक दल सदस्य बेपत्ता छन्।

जवाफमा अमेरिकाले इरानका मिसाइल र ड्रोन केन्द्र, सञ्चार नेटवर्क तथा तटीय निगरानी केन्द्रसहित १४० सैन्य निसानाहरूमा बमबारी गरेको अमेरिकी रक्षा सचिव पिट हेगसेथले पुष्टि गरेका छन्।

अमेरिकी हमलाको प्रतिक्रियास्वरूप इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले जोर्डनस्थित अमेरिकी सैन्य अखडा ‘प्रिन्स हसन एयर बेस’ मा आक्रमण गरी कमाण्ड सेन्टर र ड्रोन ह्याङ्गर ध्वस्त पारेको दाबी गरेको छ। इरानले यूएई, कतार, कुवेत, ओमान र बहराइनमा समेत मिसाइल र ड्रोन प्रहार गरेको छ। कतार र यूएईले इरानी हतियारको प्रतिवाद गरेका छन्।

यो सैन्य तनावले गत महिना मात्रै हर्मुज जलसन्धि खुला गर्ने र स्थायी शान्ति स्थापना गर्ने उद्देश्यले हस्ताक्षर गरिएको अन्तरिम युद्धविराम सम्झौता संकटमा परेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आक्रमणले युद्धविराम समाप्त भएको घोषणा गरेका छन्। इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन्।

राष्ट्रपति ट्रम्पले मध्यस्थकर्ताहरू वार्ता बचाउन प्रयासरत रहेको बताएका छन्। इरानका संसदका सभामुख मोहम्मद बागेर गालिबाफले ‘एकतर्फी सम्झौताको युग सकिएको’ घोषणा गरेका छन्। उनले भने, ‘हामीले भनेका थियौं: आफ्नो वाचा पूरा गर वा मूल्य चुकाऊ। वास्तविकता अब अगाडि छ।’

अमेरिकी सेन्ट्रल कमाण्डले हर्मुज जलसन्धि खुला रहेको दोहोर्‍याएको छ। यसलाई निर्वाध सञ्चालनमा राख्न अमेरिकी सेना जुनसुकै कदम चाल्न तयार रहेको चेतावनी दिएको छ।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार