कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा पहिरोले किम्रुङ खोला थुनिँदा तल्लो तटीय क्षेत्रका बस्तीमा जोखिम बढेको छ।
किम्रुङ भन्ने स्थानमा पहिरो खसेर खोला थुनिँदा अचानक बाढी आएको हो। यसले वडा नं ८ को स्याउली बजारका केही भौतिक संरचनामा क्षति पुर्याएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए।
केसीका अनुसार मानवीय क्षति भने भएको छैन। तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न सूचित गरिएको छ। खोलामा बाढी आएपछि स्थानीयवासी त्रसित बनेका छन्।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बाढीको घटनाबारे विवरण संकलन भइरहेको बताए। उनले स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरिएको जानकारी दिए।
