मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

एसियन राजमार्ग कालोपत्रेमा बिटुमिन ५०% महँगियो, काममा ढिलासुस्ती

काँकरभिट्टा-लौकही सडकखण्डको एसियन राजमार्ग कालोपत्रेमा बिटुमिनको मूल्य ५०% ले बढेपछि ढिलासुस्ती भएको छ। ३० महिनामा ४०% मात्र काम सम्पन्न भएको छ। एसियाली विकास बैंकको सहयोगमा यो सडक तीन वर्षमा सक्ने लक्ष्य छ।
Sunita Rai
अर्थ संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
२३३

भारतीय बिटुमिनको मूल्य दुई महिनामा ५० प्रतिशतले बढेर प्रतिलिटर १५० रुपैयाँ नाघेकाले काँकरभिट्टा-लौकही सडकखण्डको एसियन राजमार्ग कालोपत्रेमा ढिलासुस्ती भएको छ।

आयोजनाको पश्चिमखण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले गुणस्तरीय बिटुमिनको अभावले समस्या थपिएको बताए। नेपाल बिटुमिन तथा ब्यारल उद्योगले भने अभाव नभई मूल्य अप्रत्यासित रूपमा बढेको जनाएको छ।

निर्माण सुरु भएको ३० महिनामा करिब ४० प्रतिशत काम मात्र सम्पन्न भएको छ। बिटुमिन अभाव भए पनि कङ्क्रिटसम्बन्धी कामहरू तीव्र रूपमा भइरहेको प्रजापतिले जानकारी दिए। हाल ओभरपास, अन्डरपास, बेस, सबवेस, नाला लगायतका संरचना निर्माण कार्य तीव्र छ।

एसियन राजमार्ग नं २ अन्तर्गत काँकरभिट्टाबाट पश्चिम ९५.७६ किलोमिटर सडकखण्डमा मात्र ठेक्का लागेर काम भइरहेको छ। पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरिएको छ। निर्माण सामग्री सहज उपलब्ध भए कामले गति लिने प्रमुख प्रजापतिले बताए।

एसियाली विकास बैंकको आर्थिक सहयोगमा विसं २०८० माघ १९ गतेदेखि सुरु भएको यो सडक तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य छ। परियोजना सम्पन्न भएपछि थाइल्याण्डको बैंककबाट म्यान्मार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टा पुग्नेछ। त्यहाँबाट पूर्व-पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म सडक सञ्जाल जोडिनेछ।

Sunita Rai

Sunita Rai

अर्थ संवाददाता

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार