मुख्यमन्त्री बानियाँले ३ भदौभित्र विश्वासको मत लिने
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी ३ भदौभित्र प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। शनिबार काठमाडौंमा बसेको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले ३ भदौभित्र विश्वासको मत लिने निर्णय गरेको हो।
गत ६ साउनदेखि अल्पमतमा रहेका मुख्यमन्त्री बानियाँले संवैधानिक व्यवस्थाअनुसार ४ भदौभित्र विश्वासको मत लिनुपर्नेछ। यो राजनीतिक समीकरण जोगाउन कांग्रेसले साना दलहरूको समर्थन जुटाउने रणनीति अघि बढाएको छ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री बानियाँले विश्वासको मतका लागि आवश्यक बहुमत जुटाउन शीर्ष नेतृत्वमार्फत अन्य दलहरूसँग समन्वय र राजनीतिक संवाद तीव्र बनाउने निर्णय गरिएको छ।
बैठकले विश्वासको मत लिनु एक दिनअघि नै सबै सांसदलाई हेटौँडामा अनिवार्य उपस्थित हुन ह्विप जारी गर्ने निर्णय गरेको छ। यो मुद्दालाई प्रदेशको मात्र नभई केन्द्रसम्म जोडिएको राजनीतिक विषयका रुपमा लिइएको छ।
३ भदौको मतदानले मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकारको भविष्य मात्र नभई बागमती प्रदेशको आगामी सत्ता समीकरण पनि तय गर्नेछ।
