नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले संसद्मा दिएको ‘नेपालले पनि भारतको धेरै ठाउँ मिचेको रहेछ’ भन्ने अभिव्यक्ति राष्ट्रघाती, देशद्रोही र गैरजिम्मेवार भएको निष्कर्ष निकालेको छ।
बिहीबार संसदीय मामिलाका पत्रकारहरूसँगको अन्तरक्रियामा बोल्दै एमालेका प्रमुख सचेतक ऐन महरले विश्वका कुनै सार्वभौमसत्ता सम्पन्न देशका प्रधानमन्त्रीले आफ्नै देशले अर्को देशको भूमि मिचेको भन्ने अभिव्यक्ति नदिने बताए।
उनले उक्त भनाइ देश र जनताप्रतिको गद्दारी भएको दाबी गरे। प्रधानमन्त्रीले संसद्मा व्यक्त गरेका ती शब्दहरू संसदीय रेकर्डबाट हटाइनुपर्ने एमालेको माग छ।
‘नेपालले पनि भारतको धेरै ठाउँ मिचेको रहेछ भन्ने अभिव्यक्ति राष्ट्रघाती र देशद्रोही छ। यो देश र जनताप्रतिको गद्दारी थियो,’ महरले भने, ‘विश्वका कुनैपनि सार्वभौमसत्ता सम्पन्न देशका प्रधानमन्त्रीले आफ्नो देशले अर्को देशको भूमि मिचेको छ भन्दैनन्। त्यसैले यो राष्ट्रघाती, देशद्रोही र गैरजिम्मेवार विचार सदनमा राखियो। ती शब्दहरू संसदीय रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो माग हो।’
महरले सदनको गरिमा कायम गर्ने जिम्मेवारी प्रधानमन्त्री र सभामुखको भएको बताए। त्यसमा असफल भए संसद्को कार्यप्रणाली र औचित्यमाथि प्रश्न उठ्ने उनको भनाइ छ।
उनले विवादित अभिव्यक्तिबारे स्पष्ट निर्णय गरेर मात्र संसद्को कार्यसूची अगाडि बढाउनुपर्ने बताए। यही विषयमा एमालेले सदनमा विरोध जनाएको थियो।
‘सदनको गरिमा प्रधानमन्त्री र सभामुखले राख्न सक्नुहुन्न भने सदनको काम कारवाही निरन्तर अगाडि बढाउँदा त्यसको आयुमाथि प्रश्न उठ्छ। यो सदन यही ढंगले जाने कि नजाने भन्ने प्रश्न उठ्छ,’ उनले भने, ‘त्यसैले यो छिनोफानो गरेर अगाडि जानुपर्छ भनेर विरोध गरेका हौं।’
