NM Khabar 12 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भोटेकोशी बाढीपीडितलाई बाँकेका विद्यालय र अस्पतालबाट रु. १ करोड २५ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि बाँकेका निजी विद्यालय र अस्पतालले रु. १ करोड २५ लाखभन्दा बढी सहयोग गरेका छन्। प्याब्सन बाँकेले रु. ६५ लाख र निजी अस्पतालले रु. ६० लाख ७८ हजार सहयोग गरेका हुन्। राष्ट्रिय बाल अधिकार परिषद्ले बाढी प्रभावित बालबालिकाको संरक्षणलाई प्राथमिकता दिई राष्ट्रिय बाल दिवस मनाउन आग्रह गरेको छ।
Kamala Devi
Kamala Devi
12 September 2026, 6:32 am १ मिनेट पढाइ
आकार:
बाढीपीडित सहयोग बाँके
Share:

भोटेकोशी बाढीपीडितका लागि बाँकेका निजी विद्यालय र अस्पतालले रु. एक करोड २५ लाखभन्दा बढी सहयोग गरेका छन्। प्याब्सन बाँकेमा आबद्ध विद्यालयले रु. ६५ लाख र निजी अस्पतालले रु. ६० लाख ७८ हजार ५ सय १३ सहयोग गरेका हुन्।

प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यका अनुसार ७७ निजी तथा आवासीय विद्यालयबाट सङ्कलित रु. ५३ लाख ४१ हजार ४०६ र बाँकेका अस्पतालबाट सङ्कलित रु. ६० लाख ७८ हजार ५१३ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला हुनेगरी प्रदान गरिएको छ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले रु. २५ लाख, सञ्जीवनी कलेज अफ मेडिकल साइसेन्स प्रालि नेपालगञ्जले रु. २५ लाख, फत्तेबाल आँखा अस्पतालले रु. पाँच लाख ११ हजार, एचसीआरसी अस्पतालले रु. २ लाख ५० हजार, न्यूरो अस्पतालले रु. एक लाख १६ हजार ५१३, सागर अस्पताल नेपालगञ्जले रु. एक लाख एक हजार र लाइफ लाइन जनरल अस्पताल नेपालगञ्जले रु. एक लाख सहयोग गरेका हुन्। लाइफ लाइन जनरल अस्पतालका सञ्चालक डा. प्रतीक श्रेष्ठले यो जानकारी दिए।

यसैबीच, राष्ट्रिय बाल अधिकार परिषद्ले यस वर्षको राष्ट्रिय बाल दिवस बाढी प्रभावित बालबालिकाको संरक्षण र सुरक्षालाई प्राथमिकतामा राखेर मनाउन आग्रह गरेको छ। भदौ २९ गते मनाइने दिवसका अवसरमा बालबालिकाको उद्धार, राहत, संरक्षण, अस्थायी संरक्षण, परिवारको खोजतलास तथा पुनर्मिलनलाई प्राथमिकता दिन सम्बन्धित निकायलाई परिषद्ले आग्रह गरेको छ।

भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो धनजनको क्षति भएको छ। बाढीले कतिपय बालबालिकाले बाबुआमा गुमाएका छन् भने केही घाइते वा बेपत्ता भएका छन्। यस्तो अवस्थामा बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राख्दै बालमैत्री उद्धार, राहत, संरक्षण तथा मनोसामाजिक परामर्शमा ध्यान दिनुपर्ने परिषद्ले जनाएको छ।

राष्ट्रिय बाल दिवस २०८३ को नारा ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ तय भए पनि देश बाढीका कारण शोकमा रहेकाले बालबालिका केन्द्रित कार्यक्रममार्फत दिवस मनाउन परिषद्ले अनुरोध गरेको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार