बाराको जितपुरसिमरा उपमहानगरपालिका-१ भक्तिनगरमा तीन वर्षीया बालिकाको चकलेटको प्रलोभन देखाएर बलात्कारपछि हत्या भएको छ। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा म्याजिकका सहचालकसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका-२ बस्ने १६ वर्षीय सुमन थापा र ना. १ ज ७७५८ नम्बरको म्याजिकका धनी २४ वर्षीय प्रोग्रेस चौधरी छन्। थापा सोही म्याजिक गाडीका सहचालक हुन्।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, जितपुरसिमरा उपमहानगरपालिका-१, दसधुरी निवासी मनमती चौधरीकी ३ वर्षीया छोरी गरिमा चौधरी गत साउन ३१ गते बिहान करिब ८:३० बजेदेखि हराएकी थिइन्। परिवारजन र आफन्तले खोजी गर्दा पनि बालिकाको पत्तो लागेको थिएन।
साउन ३१ गते हराएकी बालिका गरिमा भदौ २ गते साँझ करिब ५:४५ बजे जितपुरसिमरा-१ स्थित भक्तिनगरमा वीरबहादुर रोकाको खाली कोठाभित्र मृत फेला परेकी थिइन्।
स्थानीयले घरको खाली कोठामा बालिकाको शव भेटिएको सूचना दिएपछि प्रहरी सक्रिय भयो। इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दिलीप क्षेत्री र जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरको टोली घटनास्थल पुगेको थियो।
घटनाको गम्भीरतालाई ध्यानमा राखी प्रदेश प्रहरी कार्यालय, वीरगञ्जबाट तालिमप्राप्त कुकुरसहितको टोली पनि झिकाइएको थियो।
अनुसन्धान टोलीले शवको सनाखत गर्दा तीन दिनअघि हराएकी ३ वर्षीया गरिमा चौधरी भएको पुष्टि गर्यो। प्रहरीले घटनामा म्याजिकका सहचालक १६ वर्षीय सुमन थापाको प्रत्यक्ष संलग्नता रहेको तथ्य फेला पारेको हो।
प्रहरीको प्रारम्भिक बयान अनुसार, सहचालक थापाले साउन ३१ गते बिहान गरिमालाई चकलेट किनिदिने प्रलोभन देखाएर वीरबहादुर रोकाको खाली घरमा पुर्याएका थिए। त्यहाँ नाबालिकामाथि जबर्जस्ती करणी गरी हत्या गरेको खुलेको छ।
जघन्य अपराधमा संलग्न सुमन थापा र म्याजिकका धनी प्रोग्रेस चौधरीलाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ। मृतक बालिकाको शव पोस्टमार्टम र फरेन्सिक जाँचका लागि अस्पताल पठाइएको छ। घटनाको प्राविधिक र कानुनी पक्षमा अनुसन्धान जारी छ।
