बर्दियाको खाता करिडोर नजिकै रहेको टाइगर ट्र्याक इकोलजले विश्वकै प्रतिष्ठित आर्किटाइजर ए+ अवार्ड २०२६ मा ‘सस्टेनेबल हस्पिटालिटी बिल्डिङ’ विधामा ‘पपुलर च्याइस विनर’ पुरस्कार जितेको छ। गैर-नाफामूलक संस्था बिल्डिङ ब्युरोले डिजाइन गरेको यो संरचनाले स्थानीय थारु वास्तुकला, पर्यावरणमैत्री सामग्री र सामुदायिक हितलाई समेटेको छ।
सन् २०२६ मा निर्माण सम्पन्न भएको यो लज बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतर्नियाघाट वन्यजन्तु आरक्ष जोड्ने खाता करिडोर नजिकै छ। करिब ४ हजार २५० वर्गफिट क्षेत्रफलमा फैलिएको यो लज परम्परागत थारु शैलीबाट प्रेरित छ। यसमा आधुनिक कंक्रीटको सट्टा र्याम्ड अर्थ (माटोको पर्खाल), भूकम्प प्रतिरोधि स्टिल रिबार संरचना र पुराना घरहरूबाट संकलित टेराकोटा टाइलको छाना प्रयोग गरिएको छ।
सन् १९७० को दशकमा निकुञ्ज स्थापनाका क्रममा विस्थापित थारु समुदाय अहिले बफर जोन क्षेत्रमा बसोबास गर्छन्। यस क्षेत्रमा करिब एक लाख जनसङ्ख्या वन पैदावारमा निर्भर छ। वन्यजन्तुसँगको द्वन्द्व न्यूनीकरण र स्थानीय समुदायको आर्थिक सशक्तीकरणका लागि टाइगर ट्र्याक इकोलज स्थापना गरिएको हो।
वन्यजन्तुको आक्रमणमा पिता गुमाएका हेमन्त आचार्यको पहलमा यो परियोजना अघि बढेको हो। लजको आम्दानीको एक हिस्सा एकल महिला वन्यजन्तु पीडित कोषमा जम्मा हुन्छ। यसले वन्यजन्तु आक्रमणबाट परिवार गुमाएका महिलाहरूलाई स्वरोजगार र उद्यमशीलताका लागि सहयोग गर्दछ।
यसैगरी यसले समुदाय-आधारित एन्टि-पोचिङ युनिट (सीबीएपीयू) लाई पनि आर्थिक सहयोग पुर्याउँछ। हाल यस युनिटमा ११९ गाउँका ३ हजार ३३६ युवा स्वयंसेवक सक्रिय छन्। यसमध्ये ५५ प्रतिशत महिला र ४५ प्रतिशत पुरुष छन्।
यो लजमा पर्यटक आवास, सामुदायिक केन्द्र, कार्यालय, रिसेप्सन, भोजन कक्ष र कर्मचारी आवासका सुविधाहरू छन्। कम ऊर्जा खपत, स्थानीय सामग्री र जलवायु अनुकूल डिजाइनका कारण यसलाई दिगो वास्तुकलाको राम्रो नमुना मानिएको छ।
टाइगर ट्र्याक इकोलजले नेपाली परम्परागत सीपलाई विश्व मञ्चमा चिनाउने, दिगो पर्यटन प्रवर्द्धन गर्ने, जैविक विविधता संरक्षण गर्ने र स्थानीय जीवनस्तर उकास्ने नयाँ मोडेल प्रस्तुत गरेको छ।
