मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

बर्दियामा बन्यजन्तुको आक्रमण: ११ को मृत्यु, १५ घाइते

बर्दियामा चालु आवमा ११ जनाको बन्यजन्तु आक्रमणबाट ज्यान गएको छ। चितुवाबाट ८, बाघबाट २ र हात्तीबाट १ जनाको मृत्यु भएको छ। १५ जना घाइते भएका छन्।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
बर्दिया बन्यजन्तु आक्रमण
Share:
१८६

बर्दियामा गत साउनयता जेठ २६ गतेसम्म ११ जनाको बन्यजन्तु आक्रमणबाट ज्यान गएको छ। डिभिजन वन कार्यालय बर्दियाका अनुसार चितुवाबाट ८, पाटे बाघबाट २ र हात्तीबाट १ जनाको मृत्यु भएको छ।

यस्तै, १५ जना घाइते भएका छन्। चितुवाको आक्रमणबाट १३ र गैंडाको आक्रमणबाट २ जना घाइते भएको कार्यालयले जनाएको छ।

गत आर्थिक वर्ष ०८१/०८२ मा ४ जना चितुवा, एक गैंडा र एक जना हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो।

समस्याग्रस्त ६ वटा चितुवा नियन्त्रणमा लिए पनि त्रास कम भएको छैन। गुलरिया, राजापुर, मधुवन, बारबर्दिया लगायतका पालिकामा चितुवा बेलाबेलामा गाउँ पस्ने गरेको छ।

बर्दियासँग जोडिएको भारतीय सीमाना कतरनियाघाट वन्यजन्तु आरक्ष र बर्दिया निकुञ्जमा बाघको संख्या बढ्दै जाँदा चितुवा सामुदायिक वन हुँदै गाउँबस्तीमा पस्ने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका प्रमुख अजित तुम्फाहाम्फेले बताए।

उनका अनुसार निकुञ्जमा बाघको डरले चितुवा मध्यवर्ती क्षेत्र हुँदै बस्तीमा पस्ने र स्थानीय वस्तुभाउ खाएपछि मानिसमाथि आक्रमण गर्ने गरेको छ।

बर्दिया निकुञ्जले दिएको जानकारी अनुसार पछिल्लो गणनामा निकुञ्जमा १ सय २५ वटा बाघ रहेका छन्। चितुवाको गणना नभएकाले यकिन संख्या थाहा हुन सकेको छैन।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार