भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका स्थानीय धनराज राईका अनुसार लगातारको वर्षाले ग्रामीण सडक हिलाम्मे र पहिरोका कारण यातायात ठप्प भएको छ । यसले दैनिक जनजीवन कष्टकर बनाएको छ ।
ग्रामीण क्षेत्रका कच्ची सडक हिलाम्मे हुँदा र ठाउँठाउँमा पहिरो जाँदा आवतजावत पूर्ण रूपमा प्रभावित भएको छ । यातायात र ढुवानी सेवा बन्द भएपछि दैनिक उपभोग्य खाद्य सामग्री ढुवानीमा समस्या भएको छ । सवारीसाधन नचल्दा बिरामी तथा अशक्त नागरिकलाई उपचारका लागि अस्पताल पुर्याउन कठिन भइरहेको राईले बताए ।
जिल्ला प्रशासन कार्यालयले सम्भावित जोखिमलाई मध्यनजर गर्दै भोजपुर सदरमुकामबाट उत्तरी क्षेत्रको षडानन्द नगरपालिका तथा दक्षिणी क्षेत्रको बैकुण्ठे हुँदै हतुवागढी र आमचोक गाउँपालिका जोड्ने सडकखण्डमा असोज ८ गतेदेखि यातायात सञ्चालनमा रोक लगाएको छ ।
मध्यपहाडी लोकमार्गमा रातको समयमा हुन सक्ने दुर्घटना र पहिरोको जोखिम न्यूनीकरण गर्न बेलुका ७ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म अत्यावश्यक बाहेकका सबै यातायात सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।
भोजपुर नगरपालिका–४ दावाका पशुपालन कृषक एकिन्द्रबहादुर विष्टले अविरल वर्षा र हिलोका कारण धानबालीसँगै व्यावसायिक पशुपालनमा समेत असर पुगेको बताए । निरन्तरको वर्षात्ले पशु चौपायालाई घाँस-पात र दानापानीको व्यवस्थापन गर्न झनै समस्या परेको उनको भनाइ छ ।
जिल्लाका पहाडी भू-भाग तथा संवेदनशील क्षेत्रहरूमा पहिरोको त्रास बढेकाले उच्च जोखिममा रहेका बस्तीहरूलाई विशेष सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । सम्भावित विपद् व्यवस्थापन, अनुगमन र उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय तहका प्रतिनिधिहरू तयारी अवस्थामा छन् ।
स्थानीय प्रशासनले विपद्को यो कठिन समयमा अति आवश्यक कामबाहेक यात्रा नगर्न र खोलानाला तथा पहिरोग्रस्त क्षेत्र आसपास नजान सर्वसाधारणलाई सूचित गरेको छ ।
