भोटेकोशी बाढीका शव पहिचानका लागि डीएनए नमुना मिलानको काम सुरु भएको छ। यो प्रक्रिया सम्पन्न हुन कम्तीमा एक महिना लाग्ने नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले Nmkhabarलाई पुष्टि गर्यो।
शवहरूको डीएनए प्रोफाइल तयार भएपछि मात्र बेपत्ता व्यक्तिका परिवारबाट संकलित नमुनासँग मिलान गरिनेछ। यो काम आगामी कात्तिकभित्र सक्ने लक्ष्य छ।
डीएनए परीक्षण र मिलानको कामलाई तीव्र बनाउन चीन, भारत र दक्षिण कोरियाबाट विशेषज्ञ टोली नेपाल आइपुगेको छ। उनीहरूको प्राविधिक सहयोगमा नमुना परीक्षण भइरहेको छ।
हालसम्म १,२३० वटा शव जमिनमुनि व्यवस्थापन गरिएको छ। ती शवबाट १,२८६ डीएनए नमुना संकलन गरिएका छन्। आफन्तको खोजीमा आएका परिवारबाट १,८४६ नमुना संकलन गरिएको छ।
काठमाडौंस्थित प्रयोगशालामा मात्र परीक्षण गर्दा समय लाग्ने भएकाले धरान र नेपालगञ्जका प्रयोगशालामा समेत काम विस्तार गर्न लागिएको छ। परिवारको डीएनए नमुना शवको प्रोफाइलसँग मिलेपछि मात्र पहिचान खुल्नेछ। त्यसपछि शव व्यवस्थापन र बुझाउने प्रक्रिया अघि बढाइनेछ।
