NM Khabar 28 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भोटेकोशी बाढी: रसुवामा उद्धार तीव्र, हेलिकप्टरबाट १७७ जनाको उद्धार

रसुवाको भोटेकोशी नदीमा आएको बाढीले ठूलो क्षति पुर्याएको छ। नेपाली सेनाले हेलिकप्टर प्रयोग गरी १७७ जनालाई उद्धार गरेको छ। सरकारले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
Sanjay Karki
Sanjay Karki
27 August 2026, 9:02 am १ मिनेट पढाइ
आकार:
भोटेकोशी बाढी रसुवा
Share:

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बुधबार ठूलो क्षति पुर्याएको छ। सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (पिएमओ) का अनुसार जोखिममा परेका नागरिकको सहयोगका लागि नेपाली सेनाले बुधबार राति नै खाद्यसामग्री, टेन्ट र औषधिसहितका राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याएको छ।

उद्धार तथा खोजी कार्यमा सुरक्षा निकायसँगै निजी क्षेत्रले पनि सहयोग गरिरहेको छ। बाढी आएलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली परिचालन गरिएको थियो। सेना र निजी क्षेत्रका हेलिकप्टर प्रयोग गरी उद्धार कार्य सुरु गरिएको थियो।

नेपाली सेनाको टोलीले रातभर स्थलमार्गबाट उद्धार कार्य जारी राखेको थियो। बिहीबार बिहानदेखि टिमुरे, स्याफ्रुबेँसी र नदी तटीय क्षेत्रमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टर र पैदल टोलीलाई थप सक्रिय बनाइएको छ। फसेका नागरिकको उद्धारसँगै बेपत्ता भएकाहरूको खोजीलाई पनि तीव्र पारिएको पिएमओले जनाएको छ।

सरकारले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारी संयन्त्र प्रभावित क्षेत्रमा केन्द्रित गरिएको छ।

यसैबीच, उद्धारसँगै राहत सामग्री प्रभावित बस्तीमा पुर्‍याउने अभियानलाई नेपाली सेनाले तीव्र बनाएको छ। दुर्गम तथा सडक सम्पर्क टुटेका क्षेत्रमा राहत पुर्‍याउन सेनाका पाँच हेलिकप्टर प्रयोग भइरहेका छन्। सेनाका ११ वटा ट्रकमार्फत राहत सामग्री त्रिशूलीसम्म ल्याइएको छ। त्रिशूलीबाट हेलिकप्टर प्रयोग गरी आवश्यकता भएका स्थानमा सामग्री पठाउने व्यवस्था मिलाइएको छ। हालसम्म चार सटल राहत सामग्री टिमुरे पुर्‍याइएको छ।

बाढीमा फसेका तथा जोखिममा रहेका नागरिकको खोजीलाई पनि निरन्तरता दिइएको छ। बिहीबारसम्म हवाई र जमिन दुवै माध्यमबाट १७७ जनालाई सुरक्षित स्थानमा सारिएको नेपाली सेनाले जनाएको छ। उद्धार गरिएकामध्ये ११४ जनालाई हेलिकप्टरबाट र ६३ जनालाई जमिनबाट उद्धार गरिएको हो। भदौ १० गते मात्रै हवाई माध्यमबाट ९७ जनाको उद्धार गरिएको थियो। बिहीबार बिहान मैलुङको टनेलबाट तीन जना र टिमुरेबाट १४ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको सेनाले जनाएको छ।

जोखिमयुक्त क्षेत्रमा ११ वटा टोलीले रातभर खोज तथा उद्धार अभियान सञ्चालन गरेका थिए। अहिले नुवाकोटदेखि चितवनसम्मका प्रभावित क्षेत्रमा दुई हजारभन्दा बढी सैनिक जनशक्ति परिचालन गरिएको छ। बाढीका कारण घाइते भएकाको उपचारका लागि त्रिशूलीमा थप मेडिकल टोलीसमेत परिचालन गरिएको छ।

सरकारले रसुवा बाढी प्रभावित क्षेत्रहरूमा सञ्चार, विद्युत र राहत कार्यलाई तीव्रता दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै प्रभावित क्षेत्रको अवस्थालाई सामान्य बनाउन भइरहेका प्रयासहरूबारे जानकारी दिएको छ। मन्त्रालयका अनुसार विभिन्न स्थानमा अवरुद्ध भएको सञ्चार सेवालाई पुनः सुचारु र सुदृढ बनाउन जेनेरेटर र सोलार सहितका पोर्टेबल मोबाइल टावरहरू पठाइने कार्य भइरहेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार