भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शव पहिचानका लागि नेपाल प्रहरीले डिएनए नमुना संकलन र परीक्षणलाई तीव्र पारेको छ। शव पहिचानमा त्रुटि नहोस् भन्दै प्रहरीले आधुनिक फोरेन्सिक विधि डिएनए प्रोफाइलङमार्फत नमुना परीक्षणलाई व्यवस्थित बनाएको छ।
नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुशीले बाढी प्रभावित क्षेत्र र मृतकका आफन्तबाट संकलित डिएनए नमुनाको परीक्षण गरिरहेको छ। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले विपद्पछिको खोज, उद्धार र शव पहिचानलाई प्रहरीले प्राथमिकतामा राखेको बताए।
प्रयोगशालाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक योगबहादुर पालका अनुसार बाढी प्रभावित क्षेत्रबाट मृतकका नमुना र आफन्तबाट संकलित नमुना प्राप्त हुनेक्रम जारी छ। ‘सङ्कलित नमुनालाई सुरक्षित भण्डारण गरी परीक्षणका सम्पूर्ण मापदण्ड पूरा गरेर डिएनए परीक्षणमा अहोरात्र खटिएका छौँ’, उनले भने।
प्रयोगशालामा हालसम्म ८०८ रगतका नमुना, ३४८ दाँत तथा हड्डीका नमुना र ८४ औँलाछापसम्बन्धी नमुना गरी जम्मा १,२४० नमुना प्राप्त भएको छ। हालसम्म २६ जिल्लाबाट डिएनए प्रोफाइलङका लागि रगतका नमुना प्राप्त भएका छन्।
पछिल्लो तथ्याङ्कअनुसार शव पहिचानका लागि मृतकका १,२८६ र आफन्तका १,४१२ गरी कुल २,६७८ डिएनए नमुना संकलन गरिएको छ। मृतकबाट संकलित नमुनामध्ये चितवनबाट ३५४, धादिङबाट ७०, नुवाकोटबाट २०७, रसुवाबाट १३४, नवलपरासीपूर्वबाट १९९, तनहुँबाट ३८, गोरखाबाट ७१ र नवलपरासी पश्चिमबाट २१३ वटा नमुना संकलन गरिएको छ।
नेपाल प्रहरी अस्पतालमा हालसम्म ९९० मृतकका आफन्तको नमुना संकलन भएको छ। भोटेकोशी बाढीपछि अझै सम्पर्कविहीन रहेका नेपाली र विदेशी नागरिकको पहिचानका लागि डिएनए प्रोफाइलङ विस्तार गरिएको छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले शव पहिचान र डिएनए परीक्षण प्रक्रियालाई सूक्ष्म अध्ययन गरी वैज्ञानिक विधिअनुसार काम गर्न निर्देशन दिएका छन्। प्रहरी उपरीक्षक धर्मराज भण्डारीले नमुना संकलन, भण्डारण र परीक्षण प्रक्रिया व्यवस्थित रहेको बताए।
