NM Khabar 17 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भोटेकोशी बाढीले खोस्यो दसैं-तिहारको रौनक, सम्पर्कविहीन परिवारमा शोक

भोटेकोशी बाढीले महोत्तरीका १० जनालाई सम्पर्कविहीन बनाएको छ। चाडपर्व नजिकिँदै गर्दा परिवारजन चिन्तामा डुबेका छन्। बेपत्ताको खोजी कार्य जारी छ, परिवारजनले सरकारसँग सहयोग मागेका छन्।
Maya Thapa
Maya Thapa
17 September 2026, 5:03 pm १ मिनेट पढाइ
आकार:
भोटेकोशी बाढी सम्पर्कविहीन परिवार
Share:

भदौ १० को भोटेकोशी बाढीले महोत्तरीका दर्जनौं परिवारको खुसी खोसेको छ। चाडपर्वको रौनकले घर आँगन रंगिन बन्दै गर्दा बाढीले बेपत्ता पारेका परिवारजनको जीवनमा शोकको कालो बादल मडारिएको छ। बेपत्ताहरुको खबर अझै नआउँदा परिवारजनहरु चाडपर्व भुलेर चिन्तामा डुबेका छन्।

बर्दिबास–३ गौरीडाँडाका ध्रुव विष्टका छोरा सौभाग्य विष्ट अपर त्रिशूली–१ जलविद्युत आयोजनामा मेकानिकल इन्जिनियर थिए। भदौ १० मा बाढी आएसँगै उनी सम्पर्कविहीन भए। हरेक वर्ष तीजमा भाइको सम्झना गर्ने ध्रुवकी छोरी सिर्जनाले यस वर्षको तीज रुँदै बिताइन्। ‘प्रत्येक वर्ष भाइ तीज आउनुअघि नै फोन गरेर लिन आउने कुरा गर्थ्यो, सोधखोज गर्थ्यो, यसपालि त उसको खबर नै सुन्न पाइएन,’ सिर्जनाले भनिन्, ‘तीन साता बितिसक्यो, कहिले पाइएला खबर?’

पिता ध्रुवले छोराको खोजीमा रसुवा र नुवाकोटको डाँडापाखा, रसुवादेखि चितवनसम्मका अस्पताल चहारीसक्दा पनि केही पत्तो नलागेको बताउँदै परिवारलाई कसरी सम्हाल्ने भन्ने चिन्ता व्यक्त गरे।

बर्दिबास–९ पशुपतिनगरका खिलबहादुर रानाकी छोरी जोया राना पनि बाढीसँगै सम्पर्कविहीन छिन्। रसुवास्थित जलविद्युत आयोजनामा कम्प्युटर इन्जिनियर रहेकी जोयाले रक्षाबन्धनमा घर आउने बताएकी थिइन्। पिता खिलबहादुरले हेलिकप्टर भाडामा लिएर खोजी गर्दा पनि पत्तो नलागेको बताउँदै छोरीको सम्झनामा चाडपर्व मनाउन नसकिएको बताए। ७५ वर्षीया हजुरआमाले ‘चाडपर्वमा घरमा सबैसँग रमाउने नै उही थिई, अब के चाडपर्व आउलान् यो घरमा?’ भन्दै आँशु झार्छिन्।

मधेसको मिथिला क्षेत्रमा मनाइने चौरचन पर्व पनि बाढीले बेपत्ता भएका परिवारमा आएन। पिपरा–३ की विणादेवी यादवले राखी, कृष्णजन्माष्टमी र चौरचन पर्व सकिएको तर छोराको खबर नआएको बताइन्। ‘पावैन तिहारमे बौवा खुब मन लगवैत छल, अइबेर हमरासबके काइनक दिनसब बित रहल अई,’ उनले भनिन्।

जलेश्वर–१० सारीका १० वर्षीय बिटुलाल दास हरेक कृष्णाष्टमी मेलामा बाबुसँग जान पाऊँ भन्दै झगडा गर्थे। अहिले उनका पिता रसुवा बाढीमा परेर हराएका छन्। नेपाली सेनाको जागिर छाडेर पर्यटक ओसार्ने काम थालेका सुशील यसपालि रसुवाबाट सम्पर्कविहीन भएका हुन्।

मटिहानी–७ का गङ्गाराम मण्डलकी ६५ वर्षीया आमा ललितादेवी मण्डल बुहारी र चार नातिनातिना देखाउँदै अब यिनीहरूको चाडपर्वको रौनक नफर्कने हो कि भन्ने चिन्ता गर्छिन्।

विष्ट, राना, यादव, दास र मण्डलबाहेक महोत्तरीका थप छ जना व्यक्ति बाढीमा परेर हराइरहेका छन्। जलेश्वर–७ महादेवपट्टीका हशन रेजा अन्सारी, लोहारपट्टी–८ का सन्तोषकुमार ठाकुर, गौशाला–१ का विजय थापा मगर, गौशाला–८ का शीतबहादुर नुङ्गेली र रामगोपालपुर–४ का विश्वजित मण्डल बाढीमा परेर सम्पर्कविहीन छन्। यस बीचका सबै चाडपर्व परिवारले रुँदै बिताएका छन्।

भोटेकोशी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा, तनहुँ र चितवन हुँदै भारतसम्म वितण्डा मच्चाएको छ। यस बाढीले महोत्तरीका कैयन बस्तीमा रुवाबासी मच्चाएको छ। एकपछि अर्को गर्दै चाडपर्व आइरहेका बेला सम्पर्कविहीन परिवारको बिचल्ली झन् बढ्दो छ। परिवारको मुख्य जिम्मेवारी सम्हालेका व्यक्ति नै हराएपछि चाडपर्वको रौनक घरमा भित्रिन सकेको छैन। बाढीमा परेर महोत्तरीका १० जना सम्पर्कविहीन छन्। सिङ्गो महोत्तरी अहिले यी १० जनाको चिन्ता र चासोमा छ। सम्पर्कविहीन परिवारले सरकार, खोज उद्धारमा कार्यरत जनशक्ति र सम्बद्ध पक्षसँग आफ्ना मान्छेको सही ठेगान लगाइदिन अनुनयविनय गरिरहेका छन्।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार