भोटेकोशी नदीमा आएको बाढीले हालसम्म एक हजार ३६६ जनाको शव फेला पारेको छ। चार हजार ७७ जना अझै सम्पर्कविहीन छन्। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणले बाढीको भयावहता दर्शाएको छ।
फेला परेका शवमध्ये ५३३ पुरुष, ३३१ महिला र ५०२ वटा शव आंशिक अङ्गसहितका छन्। हालसम्म १०२ शव आफन्तलाई बुझाइएको छ। प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार सम्पर्कविहीनमध्ये २,९०७ पुरुष र ५७२ महिला नेपाली नागरिक छन्। विदेशी नागरिकतर्फ २६९ पुरुष र ३२९ महिला सम्पर्कविहीन छन्।
सुरक्षा निकायले बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार र शव व्यवस्थापनलाई निरन्तरता दिएको छ। एक हजार १४७ वटा शव सुरक्षित रुपमा गाडेर व्यवस्थापन गरिएको छ। बाँकी शवको पहिचान र व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ।
बाढीपछि हालसम्म नौ हजार २५४ जना घाइतेको उद्धार गरिएको छ। जसमा छ हजार ३८० पुरुष, दुई हजार ८२४ महिला र ५० जनाको पहिचान खुलेको छैन। उद्धार गरिएकामध्ये तीन हजार ३० जनालाई ‘होल्डिङ सेन्टर’मा राखिएको छ।
बेपत्ता व्यक्तिको पहिचान र शवको सनाखतका लागि ‘डिएनए’ परीक्षणलाई प्राथमिकता दिइएको छ। हालसम्म मृतक एक हजार २८६ जना र मृतकका आफन्त एक हजार ४१२ जना गरी दुई हजार ६९८ जनाको डिएनए नमूना सङ्कलन गरिएको छ।
