सर्लाहीका बिक्कीकुमार महतोलाई रु तीन करोड ३८ लाखभन्दा बढीको अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा बुधबार साँझ माइतीघरबाट पक्राउ गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सर्लाहीको चन्द्रनगर गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–३२ बस्ने महतोलाई पक्राउ गरेको हो। उनले ‘वान एक्स’ एप्लिकेसनमार्फत अनलाइन सट्टेबाजी (जुवा) र युएसडिटीलगायत अभौतिक मुद्राको कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, महतोले हालसम्म रु तीन करोड ३८ लाख आठ हजार ३५० बराबरको कारोबार गरेको पाइएको छ। प्रहरीले उनको साथबाट एउटा मोबाइल फोन पनि बरामद गरेको छ।
आरोपी महतोलाई बिहीबार काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए। महतोमाथि अभौतिक मुद्रा तथा सट्टेबाजीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
नेपाल राष्ट्र बैंकले २०७४ सालदेखि नै क्रिप्टोकरेन्सीको कारोबारलाई गैरकानुनी घोषणा गरेको छ। मुलुकी अपराध संहिता, २०७४ अनुसार अनलाइन सट्टेबाजी र अभौतिक मुद्राको प्रयोग दुवै अपराध मानिन्छ। यस कारोबारमा अन्य व्यक्तिको संलग्नता र महतोले कति समयदेखि यो गतिविधि गरिरहेका थिए भन्नेबारे अनुसन्धान जारी छ।
