पक्राउ परेका सबै पत्रकारहरू रिहा भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।
मन्त्री तिमिल्सिनाले शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै पत्रकारहरूको रिहाइको पुष्टि गरेका हुन्। उनले प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका मुख्य आधारस्तम्भ भएको उल्लेख गरे।
‘प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका मुख्य आधारस्तम्भ हुन्,’ मन्त्री तिमिल्सिनाले आफ्नो सन्देशमा भने, ‘सरकार प्रेसलाई अङ्कुश लगाउने कुनै मनसाय राख्दैन।’ उनले स्वतन्त्र तर जिम्मेवार सञ्चारमाध्यमले मात्रै लोकतन्त्रलाई बलियो बनाउने सरकारको मान्यता रहेको प्रष्ट पारे।
नयाँ पत्रिका कार्यालयमा प्रहरी प्रवेश
यसअघि नयाँ पत्रिका कार्यालयमा प्रहरी प्रवेश गरेर पत्रकार नवराज मैनालीलाई पक्राउ गर्न खोज्दा अन्य पत्रकार पनि नियन्त्रणमा लिइएको थियो। प्रहरीले पक्राउ पुर्जी बिना नै नयाँ पत्रिकाका संवाददाता नवराज मैनालीलाई साइबर ब्यूरो लैजान खोज्दै कार्यालयमा प्रवेश गरेको थियो। यस घटनाको नेकपा एमालेले कडा विरोध गरेको थियो।
पत्रकार पक्राउ प्रकरणले सञ्चार जगत् र नागरिक समाजमा गम्भीर चासो उत्पन्न गराएको थियो। सबै पत्रकारहरूको रिहाइसँगै तत्कालका लागि उक्त विवाद मत्थर हुने संकेत देखिएको छ। सरकारले आगामी दिनमा प्रेस स्वतन्त्रताको सम्मान गर्दै सञ्चारमाध्यमसँग सहकार्य गरेर अघि बढ्ने सन्देश दिएको छ।
