NM Khabar 27 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बिपी कोइराला क्यान्सर अस्पतालमा औषधि अभाव: उपचारमा गम्भीर संकट

• बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्बोप्लाटिन र सिसप्लाटिन जस्ता अत्यावश्यक केमोथेरापी औषधिको चरम अभाव छ। • विश्वव्यापी आपूर्ति समस्याका कारण यी औषधिका मुख्य तत्व (API) को कमी छ, जसले नेपालमा पनि असर पारेको छ। • औषधिको अभावले बिरामीको उपचारको गुणस्तरमा गम्भीर असर परेको छ भने अवैध र गुणस्तरहीन औषधिको प्रयोगको जोखिम बढेको छ।
Sarita Pandey
Sarita Pandey
27 May 2026, 10:02 am १ मिनेट पढाइ
आकार:
Share:

चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्यावश्यक औषधिको अभावले क्यान्सर रोगीको उपचारमा गम्भीर समस्या देखिएको छ। विश्वव्यापी आपूर्तिमा असर परेका केही महत्वपूर्ण क्यान्सर उपचारका औषधि अस्पतालमा पाउन छाडेपछि बिरामीहरूले उपचारमा कठिनाईँ भोग्नुपरेको छ।

मेडिकल अङ्कोलोजी विभाग प्रमुख डा. गुरुशरण साहका अनुसार, विश्वभर क्यान्सर उपचारमा प्रयोग हुने केही महत्वपूर्ण औषधिको अभाव छ। यसको प्रत्यक्ष असर बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि परेको छ। ‘औषधिको अभावले केमोथेरापीको प्रभावकारिता मात्र नघटाउने, बजारमा हुने अवैध ओसारपसार र गुणस्तरहीन औषधिको प्रयोगले बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याइरहेको छ,’ डा. साहले बताए।

हाल विशेषगरी कार्बोप्लाटिन (Carboplatin) र सिसप्लाटिन (Cisplatin) जस्ता केमोथेरापीमा मुख्य आधारका रुपमा प्रयोग हुने औषधिको अभाव देखिएको छ। डा. साहका अनुसार, यी औषधि बनाउन आवश्यक पर्ने ‘एपिआई’ (मुख्य तत्व) को विश्वव्यापी आपूर्तिमा कमी आएकाले यो समस्या उत्पन्न भएको हो। निकट भविष्यमा अक्सालोप्लाटिनको पनि अभाव हुन सक्ने आँकलन गरिएको छ।

यी औषधि बिना केमोथेरापीको ‘रेजिम’ पूरा नहुने र उपचारको प्रभावकारितामा गम्भीर नकारात्मक असर पर्ने डा. साहले बताए। कतिपय बिरामीहरूले छिमेकी मुलुक वा बाहिरका पसलबाट औषधि ल्याउने गरेका छन्। तर ती औषधिहरू दर्ता नभएका, सिल तोडिएका र भन्सार छलेर ल्याइएका पाइएको छ।

अस्पतालको डे–केयर र वार्डमा दैनिक झण्डै २०० जना बिरामीले केमोथेरापी लिने गर्छन्। डा. साहले कार्बोप्लाटिन र सिसप्लाटिन जस्ता मुख्य औषधिलाई अन्य औषधिले सजिलै प्रतिस्थापन गर्न नसकिने बताए। ‘औषधि नै नभएपछि हामीले उपचारमा केही सम्झौता गर्नुपर्ने बाध्यता छ, जसले उपचारको गुणस्तरमा असर पारिरहेको छ,’ उनले भने।

अस्पतालका निवर्तमान कार्यकारी निर्देशक डा. शिवजी पौडेलले कार्बोप्लाटिन र सिसप्लाटिनको आपूर्ति छ महिनाअघि नै बन्द भएको जानकारी दिए। उनका अनुसार, अस्पतालमा तीन महिनाअघिसम्म सिसप्लाटिन आधा बिरामीलाई पुग्ने स्टक भए पनि त्यसपछि पूर्ण रुपमा सकिएको छ।

Sarita Pandey

Sarita Pandey

संवाददाता · NM Khabar

सरिता पाण्डे NM खबरकी नीति र शासन संवाददाता हुन्। कानून, संवैधानिक सुधार र सार्वजनिक नीतिका जटिल विषयहरूलाई सरल भाषामा पाठकसमक्ष पुर्‍याउने उनको क्षमता विशेष छ। काठमाडौं स्कूल अफ लबाट कानून पढेकी उनी नियामक मामिला र न्यायपालिकासम्बन्धी रिपोर्टिङमा दक्ष छिन्।

सम्बन्धित समाचार