विराटनगरको दरैयास्थित कोलर चोकमा भदौ १६ गते राति सशस्त्र प्रहरीले को १ च ६६२० नम्बरको सुजुकी भ्यान रोक्दा चालक फरार भए । खानतलासी गर्दा दुई बोरामा करिब ६० किलो गाँजा फेला पर्यो । बरामद हुँदा भ्यानमा ‘दिव्य ज्योति अस्पताल प्रा.लि.’ लेखिएको स्टिकर थियो ।
सशस्त्र प्रहरीले भ्यान र गाँजा इलाका प्रहरी कार्यालय रानीलाई बुझायो । नेपाल प्रहरीको नियन्त्रणमा पुगेपछि सार्वजनिक भएको तस्बिरमा भने अस्पतालको स्टिकर हटाइएको थियो । सशस्त्र प्रहरीले बुझाउँदा स्टिकर थियो, प्रहरी कार्यालयमा गायब भएपछि प्रमाण नष्ट गर्न खोजिएको भन्दै आलोचना सुरु भयो ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रविण घिमिरेलाई २४ घण्टे लिखित स्पष्टीकरण सोधेका छन् । कसको आदेशमा र किन स्टिकर हटाइयो भन्नेबारे जवाफ मागिएको छ । एसपी कटवालले छानबिन भइरहेको र दोषी देखिए कारबाही हुने बताए ।
दिव्य ज्योति आँखा अस्पतालले पत्रकार सम्मेलन गरी आफ्नो संलग्नता अस्वीकार गर्यो । अध्यक्ष देवा यादवले भ्यान अस्पतालको स्वामित्वमा नरहेको दाबी गरे । ‘भ्यानमा हाम्रो अस्पतालको नाम लेखिँदैमा त्यो अस्पतालकै हुन्छ भन्ने छैन,’ यादवले भने, ‘संस्थाको प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले कसैले नाम दुरुपयोग गरेको हुन सक्छ ।’ अस्पताल प्रशासनले सवारीको वास्तविक धनी पत्ता लगाई कारबाही गर्न प्रहरीसँग माग गर्यो ।
प्रहरीले फरार चालक र तस्करी गिरोहको खोजी तीव्र पारेको छ । अस्पतालको स्टिकर प्रयोग गरेर सुरक्षाकर्मीलाई छल्न खोजिएको हो वा अस्पतालभित्रकै कसैको संलग्नता छ भन्नेबारे अनुसन्धान भइरहेको छ ।
