NM Khabar 29 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

विराटनगरका तीन औषधि पसलमा सिलबन्दी: ६ वर्षदेखि नवीकरणबिनै सञ्चालन

विराटनगरको अस्पताल चोक क्षेत्रमा कानुनी मापदण्ड विपरीत सञ्चालन भइरहेका तीन औषधि पसलमाथि अनुगमन टोलीले सिलबन्दी गरेको छ। इमान फार्मेसी, खुश फार्मेसी र सुरेश फार्मेसी ६ वर्षदेखि नवीकरणबिनै सञ्चालनमा थिए।
Kamala Devi
Kamala Devi
29 September 2026, 7:32 pm १ मिनेट पढाइ
आकार:
औषधि पसल सिलबन्दी
Share:

विराटनगरको अस्पताल चोक क्षेत्रमा ६ वर्षदेखि नवीकरणबिनै सञ्चालन भइरहेका तीन औषधि पसलमाथि अनुगमन टोलीले सिलबन्दी गरेको छ। जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा खटिएको संयुक्त टोलीले इमान फार्मेसी, खुश फार्मेसी र सुरेश फार्मेसीलाई सिलबन्दी गरेको हो।

खुश फार्मेसीले आधिकारिक व्यवसायी (फार्मासिस्ट) नराखेको, दर्ता नभएका औषधि बिक्री गरेको पाइएपछि तत्काल सिलबन्दी गरिएको औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी निरीक्षक एलन खड्काले बताए। इमान फार्मेसीको नवीकरण म्याद सकिएको थियो। विभागको स्वीकृतिबिना ठाउँसारी गरेर सञ्चालन गरिएको भेटिएको छ। सुरेश फार्मेसीले विगत ६ वर्षदेखि नवीकरण नै नगरी पसल चलाइरहेको पाइएको छ।

‘औषधि ऐनअनुसार म्याद सकिएको ३० दिनभित्र नवीकरण नगराए पसल स्वतः दर्तारहित ठहरिन्छ,’ फार्मेसी निरीक्षक खड्काले भने, ‘त्यसैले कानुनबमोजिम ती पसलमा सिलबन्दी गरिएको हो।’

जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा औषधि व्यवस्था विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र राजस्व अनुसन्धान कार्यालयको संयुक्त टोलीले बजार अनुगमन गरेको थियो। अनुगमनका क्रममा बिलबिजक दुरुस्त नराख्ने पसलहरूलाई राजस्व अनुसन्धान कार्यालयले जरिवाना तिराएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार