वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको १० महिनामा रु सात अर्ब ९७ करोड बराबरको दलहन आयात भएको छ। सात प्रकारका दलहन नेपाल भित्रिएका छन्।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आवको सोही अवधिको तुलनामा यो वर्ष दलहन आयात मूल्यका आधारमा २२ प्रतिशतले घटेको छ। गत आवको १० महिनामा रु १० अर्ब २१ करोडको दलहन आयात भएको थियो।
चालु आवको १० महिनामा रु तीन अर्ब २० करोड मूल्यको मुसुरो दाल आयात भएको छ। गत आवको सोही अवधिमा रु चार अर्ब ५० करोडको मुसुरो आयात भएको थियो। सिमी/राजमाको आयात रु दुई अर्ब चार करोडमा झरेको छ। गत वर्ष यो रु दुई अर्ब ७४ करोड थियो।
चनाको आयात पनि घटेको छ। चालु आवको १० महिनामा रु एक अर्ब ९२ करोडको चना आयात भएको छ। गत आवको सोही अवधिमा रु दुई अर्ब १७ करोडको आयात भएको थियो। अन्य गेडागुडीको आयात रु ४२ करोडमा सीमित भएको छ। गत वर्ष यो रु ४५ करोड ८८ लाख थियो।
