लिखत सम्बन्धी कसुर तथा किर्ते जालसाजी मुद्दामा पक्राउ पुर्जी जारी भएका वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहका स्वकीय सचिव सत्यराज घिमिरेलाई प्रहरीले सोमबार पर्सा जिल्ला अदालत परिसरबाट नियन्त्रणमा लिएको छ। सादा पोसाकमा खटिएको प्रहरी टोलीले घिमिरेलाई नियन्त्रणमा लिएर पर्सा प्रहरी कार्यालय वीरगञ्जको जिम्मा लगाएको छ।
प्रहरीले मेयर सिंह लुकेको स्थानबारे पत्ता लगाउनका लागि घिमिरेलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको पर्सा प्रहरीले जनाएको छ। अदालतबाट पक्राउ पुर्जी जारी भएका सिंहलाई पक्राउ गरी अदालतमा बुझाउन ढिलाइ भएको भन्दै प्रहरी प्रधान कार्यालयले पर्सा प्रहरी प्रमुख सुदीपराज पाठकको कार्यप्रति असन्तुष्टि जनाएको छ।
फरार रहेका वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंहलाई सोमबार अदालतमा हाजिर गराउन स्वकीय सचिव घिमिरे बिहान १० बजेतिर अदालत पुगेका थिए। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले घिमिरेलाई केही कुरा बुझ्नका लागि प्रहरी कार्यालयमा ल्याइएको र सोधपुछ भइरहेको बताए।
मेयर सिंहले प्रहरी प्रशासनलाई चुनौती दिँदै कानुनी राज्यको खिल्ली उडाउँदै हिँडेको आरोप छ। सामान्यतया अदालतबाट पक्राउ पुर्जी जारी भएको व्यक्ति अदालतमा उपस्थित हुँदा पेशी नतोकिँदासम्म श्रेस्तेदारले निवेदकलाई प्रहरीको जिम्मा लगाउनुपर्ने कानुनी व्यवस्था छ। तर, पर्सा जिल्ला अदालतबाट सिंहलाई त्यसरी प्रक्रिया पूरा नगरी बाहिरिन दिएको घटनाले अदालतको कार्यप्रणालीमाथि प्रश्न उठेको छ।
जेठ ८ गते सिंहसहितलाई पक्राउ पुर्जी जारी भएको थियो। जेठ १३ गते सिंह आफ्ना कानुनी सल्लाहकार र स्वकीय सचिवसहित समर्थक लिएर अदालत पुगेका थिए। अदालत परिसरभित्र हिँडडुल गरिरहेको उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
अधिवक्ता परमहंस केशरीका अनुसार, पक्राउ पुर्जी जारी भएको व्यक्ति अदालतमा हाजिर हुन आएमा श्रेस्तेदारले प्रहरीको जिम्मा लगाएर मुद्दा पेशीमा चढाउनुपर्छ। त्यसपछि गोलाप्रथाबाट इजलास तोकी न्यायाधीशले थुनछेक बहस गरी थुनामा पठाउने वा तारिखमा राख्ने आदेश दिनुपर्ने कानुनी व्यवस्था छ। तर, सिंहलाई यो प्रक्रिया पूरा नगरी बाहिरिन दिइएको आरोप छ।
श्रेस्तेदार प्रभाकर मलिकले सिंहसँग भेट भएको स्वीकारे पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थाहा नभएको तर्क गरेका छन्। पक्राउ गर्ने काम प्रहरीको भएको भन्दै उनले प्रहरीले किन सिंहलाई पक्राउ नगरेको भनी प्रश्न उठाएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख सुदीप राज पाठकले प्रहरीले सिंहलाई खोजी गरिरहेको बताए।
