भोटेकोशी बाढी मृतकको सम्मानमा राष्ट्रिय शोक, सुरक्षाकर्मीलाई १० लाखसम्म राहत
सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार राष्ट्रिय शोकका दिन देशभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। बाढीमा खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च, घाइते भएमा निःशुल्क उपचार तथा मृत्यु भएमा परिवारलाई प्रति मृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको थियो।
एसियाली विकास बैंकको ५ मिलियन डलर अनुदान स्वीकार
बैठकले एसियाली विकास बैंकबाट भोटेकोशी बाढी प्रभावित जनताको जीवनरक्षा तथा आपतकालीन उद्धार र राहत कार्यका लागि प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सुचारू गर्न एकीकृत व्यवसाय पुनस्र्थापन योजना अन्तर्गत राहत, कर तथा महसुल लगायतका सहुलियत र सुविधा उपलब्ध गराउने पनि निर्णय भएको छ।
यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत कूल २५ हजार मेट्रिकटन चिनी १ प्रतिशत भन्सार महसुलमा आयात गर्न स्वीकृति दिइएको छ।
शहीद दिवसमा सार्वजनिक बिदा, सचिव बढुवा
अर्को एक निर्णयमा, २०८३ साल भदौ २३ गते शहीद दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने तय भएको छ।
नेपाल प्रशासन सेवा समूहिकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा श्री नारायणप्रसाद भट्टलाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोशी प्रदेशको मुख्यसचिव पदमा पदस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ।
