भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा किमोथेरापीका अत्यावश्यक औषधि कार्बोप्लाटिन र सिसप्लाटिनको अभावले बिरामीहरू उपचारका लागि भौँतारिन बाध्य छन्। देशैभरि यो औषधिको चरम संकट छ।
उत्पादनमा प्रयोग हुने सक्रिय कच्चा पदार्थ (एपीआई) को विश्वव्यापी अभाव, मूल्यवृद्धि र इन्धन महँगिँदा उत्पादन तथा ढुवानी लागत बढेको छ। तर, लागतअनुसार नेपालमा बिक्री मूल्य समायोजन नहुँदा आयातकर्ताहरूले पर्याप्त औषधि ल्याउन सकेका छैनन्।
औषधि व्यवस्था विभागले देशभरका ११ स्वास्थ्य संस्था र मेडिकलमार्फत औषधि उपलब्ध गराउने व्यवस्था गरे पनि मागअनुसार आपूर्ति हुन सकेको छैन। चितवनका लागि जिम्मेवारी पाएको भरतपुरको राज ड्रग प्रालिमा कार्बोप्लाटिन उपलब्ध भए पनि मागको तुलनामा निकै कम छ। प्रालिका सञ्चालक राजीव थापाका अनुसार बुधबार ४५० मिलिग्रामका २० वटा कार्बोप्लाटिन आए पनि सबै सकिए। दैनिक कम्तीमा ४० वटाको माग छ।
माडी नगरपालिका–३ धोवाहाकी २४ वर्षीया मनिषाको ११औँ चरणको किमोथेरापीका लागि औषधि नपाएपछि बुबा एकला महतो विभिन्न ठाउँ धाउन बाध्य भए। ‘सोमबार नै आएँ, तर औषधि पाइएन। धेरै ठाउँ खोजेपछि बल्ल उपचार गर्न पाएँ,’ उनले भने।
महोत्तरीकी पुनम मण्डल आमा रिङ्कुकुमारीको उपचारमा चार दिनसम्म भरतपुरमा औषधि खोज्दै बसिन्। ‘दोस्रो चरणमै एउटा औषधि पाइएन। अहिले पनि धेरै खोजेपछि मात्र भेटियो,’ उनले बताइन्। पर्साका ओमप्रकाश कुमार चौथो किमोथेरापीका लागि तीन दिनसम्म औषधि खोज्नुपरेको अनुभव सुनाए। ‘रोगसँग लड्नुपरेको छ, औषधि पाउन झन् ठूलो संघर्ष गर्नुपरेको छ,’ उनले भने।
देशकै प्रमुख क्यान्सर उपचार केन्द्रमा देशभरिबाट बिरामी आउँछन्। पछिल्लो एक महिनादेखि कार्बोप्लाटिन र सिसप्लाटिनको अभावले उपचार व्यवस्थापन प्रभावित भएको छ।
मेडिकल अन्कोलोजी विभाग प्रमुख डा. गुरुशरण शाहका अनुसार किमोथेरापी गर्ने १० बिरामीमध्ये सातदेखि आठ जनालाई यी औषधि चाहिन्छ। अस्पतालमा सातामा करिब चार सयले किमो गराउँछन्। अहिले उपलब्ध औषधिले आधा बिरामीलाई मात्र पुग्छ। ‘बजारमा मागको आधाजति मात्र औषधि छ। कार्बोप्लाटिन र सिसप्लाटिनको हाहाकार छ,’ डा. शाहले भने।
डा. शाहका अनुसार केही बिरामीले अनधिकृत रूपमा भित्रिएका औषधि किन्न बाध्य भएको सूचना छ। ‘किमोथेरापीका औषधि २५ डिग्री सेल्सियसभन्दा कम तापक्रममा राख्नुपर्छ। झोलामा बोकेर ल्याइएका औषधिको गुणस्तरमा जोखिम हुन्छ,’ उनले भने।
डा. शाहले एपीआई अभाव र मूल्यवृद्धिका कारण विश्वभर उत्पादन प्रभावित भएको बताए। ‘यो यस्तो औषधि हो, जसको प्रभावकारी विकल्प छैन। विकल्प खोज्दा बिरामीको उपचार नै अपुरो हुन सक्छ,’ उनले चिन्ता व्यक्त गरे।
