NM Khabar 31 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कैलालीका बालबालिकाले जनप्रतिनिधिसँग मागे शिक्षा, स्वास्थ्य र सुरक्षामा प्राथमिकता

कैलालीका बालबालिकाले आगामी बजेटमा शिक्षा, स्वास्थ्य, बालविवाह रोक्न र सुरक्षित वातावरण निर्माणमा जोड दिन माग गरेका छन्। उनीहरूले विपन्न, अभिभावकविहीन तथा जोखिममा परेका बालबालिकालाई विशेष प्राथमिकता दिनुपर्ने औंल्याएका छन्। जनप्रतिनिधिहरूले बालबालिकाका माग सम्बोधन गर्न र नीतिगत सुधार गर्न प्रतिबद्धता जनाएका छन्।
Maya Thapa
Maya Thapa
31 May 2026, 12:32 pm १ मिनेट पढाइ
आकार:
Share:

कैलालीका बालबालिकाले आगामी आर्थिक वर्षको बजेटमा गुणस्तरीय शिक्षा, स्वास्थ्य सुधार, बालविवाह तथा बालश्रम रोकथाम र सुरक्षित वातावरण निर्माणलाई प्राथमिकता दिन स्थानीय जनप्रतिनिधिसँग जोडदार माग गरेका छन्। भजनीमा आयोजित एक कार्यक्रममा सहभागी बालबालिकाले विपन्न, अभिभावकविहीन र जोखिममा रहेका बालबालिकालाई विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका हुन्।

बालिका बिनिता चौधरीले बालबालिकाको स्वास्थ्य तथा पोषण सुधारका लागि कार्यक्रम ल्याउनुपर्ने, बालविवाह, बालश्रम र बालहिंसा नियन्त्रणका लागि पालिकाको नीति तथा कार्यक्रममा स्पष्ट व्यवस्था हुनुपर्ने माग गरिन्। निर्मला विकले बालिकालाई बलात्कार र यौनजन्य हिंसाबाट जोगाउन तथा जोखिममा परेका बालबालिकाको संरक्षणको जिम्मा पालिकाले लिनुपर्ने बताइन्। किरण लोनियाले विद्यालयमा पुस्तकालय, खेलमैदान, कला संस्कृति संरक्षण र नेतृत्व विकासमा लगानी बढाउन आग्रह गरिन्।

मुस्लिम समुदायमा अझै व्याप्त बालविवाह र छोरीलाई विद्यालय नपठाउने प्रवृत्ति अन्त्य गर्न सचेतना र शिक्षा तथा स्वास्थ्यमा लगानी बढाउनुपर्नेमा जोड दिइयो। कैलारी गाउँपालिकाका दिपु चौधरीले अपाङ्गता भएका बालबालिकाका लागि विशेष कार्यक्रम सञ्चालन गर्न तथा योजना तर्जुमा प्रक्रियामा बालबालिकालाई सहभागी गराउन माग गरे। विद्यालयमा खानेपानी, सरसफाइ र शौचालयको अवस्था सुधार गर्नुपर्ने उनको भनाइ थियो।

अनलाइन दुर्व्यवहार र साइबर जोखिम बढेको भन्दै सुरक्षित इन्टरनेट प्रयोगबारे जनचेतना जगाउनुपर्ने र महिनावारी व्यवस्थापनमा सहयोग पुर्याउन हरेक विद्यालयमा महिला शिक्षकलाई सम्पर्क शिक्षकका रूपमा नियुक्त गर्नुपर्ने माग पनि उठेका छन्। गर्मीमा पंखाको अभाव, शौचालयको फोहोरपन र छाउपडी प्रथाले पठनपाठनमा चुनौती थपिरहेको बालबालिकाले गुनासो गरे।

वल्ड भिजन इन्टरनेशनल नेपाल र बालकल्याण सङ्घ टीकापुरको आयोजनामा भएको कार्यक्रममा भजनी नगरपालिकाकी महिला बालबालिका शाखा प्रमुख रिजु चौधरीले बालविवाह, लागूऔषध, विद्यालय छाड्ने दर र आत्महत्याका घटना बढ्दै गएको चिन्ता व्यक्त गरिन्। नगर उपप्रमुख राजु तिरुवाले मुस्लिम बस्तीमा बालविवाह न्यूनीकरणका लागि परिवार नियोजन गर्ने महिलालाई प्रोत्साहन कार्यक्रम अगाडि बढाइएको र यसलाई विस्तार गरिने बताए।

नगरप्रमुख केवल चौधरीले बालबालिकाका समस्याप्रति आफू गम्भीर रहेको र शिक्षा शाखासँग समन्वय गरी विद्यालयका समस्या समाधान गरिने प्रतिबद्धता जनाए। बालकल्याण सङ्घका संरक्षण अधिकृत इन्द्रराज जोशीले जोखिममा रहेका बालबालिकाको सुरक्षा र संरक्षण गर्दै शिक्षामा पहुँच बढाउन परियोजनाले काम गर्ने बताए।

कैलारी गाउँपालिकाका उपाध्यक्ष भगवतीकुमारी चौधरीले अति विपन्न र अभिभावकविहीन बालबालिकालाई सहयोग, स्वास्थ्य परीक्षण र क्षमता विकासका कार्यक्रम भइरहेको जानकारी दिँदै योजना तर्जुमामा बालबालिकाको सहभागिता सुनिश्चित गरिने बताइन्। कैलारी–८ का वडाध्यक्ष तारामल कठरियाले बालविवाह र लागूऔषध नियन्त्रणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार