सप्तरीको छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झामाथि कार्यकक्षमै दुर्व्यवहार भएको छ। बुधबार कार्यालय समयमा एक समूहले झामाथि दुर्व्यवहार गरेको भन्दै कर्मचारीहरूले बिहीबार विज्ञप्तिमार्फत विरोध जनाएका हुन्।
उक्त समूहले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी झालाई कुर्सीबाट लडाएको, अपशब्द प्रयोग गरेको र कार्यालयका झ्यालका सिसा तोडफोड गरी सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको विज्ञप्तिमा उल्लेख छ। कर्मचारीहरूले दोषीमाथि तत्काल कारबाहीको माग गरेका छन्।
गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले एक समूहले श्री माध्यमिक विद्यालय लालापट्टिका विद्यार्थीहरूको गलत प्रयोग गरी गाउँपालिकाविरुद्ध प्रदर्शन गराएको बताए। कर्मचारीहरूको विज्ञप्तिमा विद्यालयजस्तो पवित्र क्षेत्रलाई विवादमा तानेर शैक्षिक क्षेत्रमा नराम्रो नजिर स्थापित गर्न खोजिएको उल्लेख छ।
कर्मचारीहरूले चारबुँदे माग सार्वजनिक गरेका छन्। उनीहरूले दुर्व्यवहार र तोडफोडमा संलग्न मुख्य योजनाकारहरूको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरेका छन्। बालबालिकाको मनोविज्ञानमा नकारात्मक असर पर्ने गरी उनीहरूलाई राजनीतिक रिसइबी साध्ने माध्यम नबनाउन सचेत गराइएको छ।
कर्मचारीहरूले आफूहरू असुरक्षित महसुस गरिरहेको भन्दै कार्यालय सञ्चालनका लागि आवश्यक शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म र दोषीलाई कारबाही नभएसम्म कामकाजमा बाधा पुग्न सक्ने चेतावनी दिएका छन्। विधिको शासनको उपहास गर्ने जोकोहीलाई पनि कानुनबमोजिम कारबाही गर्नुपर्ने र गाउँपालिकाको विकास तथा शान्तिमा खलल नपुर्याउन सामूहिक हस्ताक्षरसहित सबै पक्षसँग अपिल गरिएको छ।
