NM Khabar 19 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

‘चुरे दोहनले मधेशमा संकट’, महन्थ ठाकुरको सरकारलाई प्रश्न

जनता समाजवादी पार्टीका संरक्षक महन्थ ठाकुरले चुरे र भावर क्षेत्रको अनियन्त्रित दोहनले मधेशमा गम्भीर संकट निम्त्याएको खुलासा गरेका छन्। उनले अनियन्त्रित दोहनले मधेशमा कटान र डुबानको भयावह समस्या निम्त्याएको बताए। बजेट विनियोजन र खर्च प्रक्रिया पारदर्शी नभएको भन्दै ठाकुरले आलोचना गरे।
Kamala Devi
Kamala Devi
19 May 2026, 11:06 am १ मिनेट पढाइ
आकार:
Share:

राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सोमबारको बैठकमा जनता समाजवादी पार्टीका संरक्षक महन्थ ठाकुरले चुरे र भावर क्षेत्रको अनियन्त्रित दोहनले मधेशमा गम्भीर संकट निम्त्याएको खुलासा गरे।

उनले विकासका कुरा भए पनि व्यवहारमा भने प्रतिकूल अवस्था सिर्जना भइरहेको बताए।

प्राकृतिक स्रोतको अत्यधिक दोहनले वर्षायाममा उत्तरतर्फ कटान र दक्षिणतर्फ डुबानको भयावह समस्या निम्त्याएको उनको भनाइ थियो। महिनौंसम्म बस्तीहरू डुबानमा पर्दा पनि राज्यका निकायहरूबाट उचित ध्यान नपुगेको भन्दै उनले असन्तुष्टि जनाए।

वातावरणीय चेतनाको अभाव र भौतिक विनाशका कारण विगतमा स्थापित विद्यालयहरू समेत बन्द हुने अवस्थामा पुगेको ठाकुरले उल्लेख गरे।

बजेट विनियोजन र त्यसको खर्च हुने प्रक्रिया पारदर्शी नभएको भन्दै संरक्षक ठाकुरले आलोचना गरे। राष्ट्रियसभा सदस्यसमेत रहेका ठाकुरले चुरे विनाश नरोकिएको र ढुङ्गा, माटो, बालुवा निकाल्ने क्रम जारी रहेको बताए।

उनले भने, ‘भावर क्षेत्रको स्थिति पनि उस्तै छ। बजेट जान्छ तर त्यसको प्रतिफल देखिँदैन। आधा बजेट कता हराउँछ, पत्तो हुँदैन। जसरी हामी पृथ्वी घुमिरहेको देख्दैनौँ, त्यसैगरी बजेट पनि शून्यमा हराइरहेको छ।’

विगतका वर्षहरूमा बजेट विनियोजन भए पनि त्यसले लक्षित वर्ग र क्षेत्रलाई छुन नसकेको उल्लेख गर्दै उनले यसपटकको बजेट बालुवामा पानी हाले जस्तै शून्यमा नजाओस् भन्दै कामनासमेत गरे।

संरक्षक ठाकुरले विकास निर्माणका योजनाहरू कागजमा मात्र सीमित नभइ जनताले महसुस गर्नेगरी कार्यान्वयन हुनुपर्नेमा जोड दिए। उनले सरकारलाई मधेशको संवेदनशीलता बुझ्न र विकासका योजनाहरूलाई परिणाममुखी बनाउन आग्रह गरे।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार