NM Khabar 8 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सिभिल अस्पतालका ८ कर्मचारीविरुद्ध ३ करोडको भ्रष्टाचार मुद्दा दायर

अख्तियारले सिभिल अस्पतालका फार्मेसी इन्चार्ज दीपा ढुंगानासहित ८ जनाविरुद्ध ३ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ। औषधि खरिद र मौज्दातमा अनियमितता भएको आरोपमा २ करोड ९१ लाखभन्दा बढी बिगो माग दाबी गरिएको छ। औषधि आपूर्ति नगरी बिल मिलाएको र म्याद गुज्रेका औषधि थुपारेको अख्तियारको भनाइ छ।
Arjun Basnet
Arjun Basnet
8 July 2026, 6:04 pm १ मिनेट पढाइ
आकार:
सिभिल अस्पताल भ्रष्टाचार
Share:

अख्तियारले सिभिल अस्पतालका फार्मेसी इन्चार्ज दीपा ढुंगानासहित ८ जनाविरुद्ध ३ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ।

उनीहरूमाथि औषधि आपूर्ति नै नगरी बिल भरपाई मिलाएर ठूलो रकम भ्रष्टाचार गरेको आरोप छ। आयोगले जनही २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ ३७ पैसा बिगो कायम गरेको छ।

मुद्दा दायर हुनेहरूमा फार्मेसी युनिट इन्चार्ज/फार्मेसी अधिकृत दीपा ढुङ्गाना, फार्मेसी सहायक लवेन्द्र कुँवर, वरिष्ठ फार्मेसी सहायक दिनेश पन्त, फार्मेसी सहायक दीपक सापकोटा, स्टोर किपर/वरिष्ठ फार्मेसी सहायक विनोद पोखरेल, स्टोर किपर/वरिष्ठ फार्मेसी सहायक शर्मिला श्रेष्ठ, स्टोर किपर/फार्मेसी सहायक केशव राज न्यौपाने र स्टोर किपर/फार्मेसी सहायक सन्दीप तिवारी रहेका छन्।

अनुसन्धानले अस्पतालको स्टोर शाखा र भर्‍याङमा करोडौँको म्याद गुज्रेका औषधि फालिएको अवस्थामा रहेको देखायो। कम्प्युटरमा स्टक देखाएको औषधि यथार्थमा मौज्दात नरहेको समेत खुलेको छ।

अख्तियारका अनुसार, फार्मेसी सेवा सञ्चालन निर्देशिका, २०७२ ले तोकेको वार्षिक ट्रायल ब्यालेन्स तयार भएन। म्याद सकिएका औषधि आपूर्तिकर्तालाई फिर्ता नगरी प्रतिस्थापन वा सोधभर्ना प्रक्रिया पनि अघि बढाइएको थिएन। म्याद गुज्रिएका औषधि स्टोरमा हुँदाहुँदै पनि, गलत जानकारी दिएर कम्पनीहरूको धरौटी रकम फिर्ता गराइएको थियो।

अस्पतालको मेडिकल डिभिजन प्रमुखको नेतृत्वमा गठित समितिको प्रतिवेदनका आधारमा उक्त हानी-नोक्सानीको निष्कर्ष निकालिएको थियो।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार