नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोपमा निलम्बन गरेको छ। २०८२ फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा पार्टी उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोपमा छानबिन भइरहेका बेला यादवलाई निलम्बन गरिएको हो।
समितिको बिहीबार बसेको बैठकले यादवलाई निलम्बन गर्ने निर्णय गर्यो। बैठकले अन्य चार नेतामाथि छानबिन गरी निर्देशन र सफाइ दिने निर्णय समेत गरेको छ। समितिका सचिव दिनेश थापामगरद्वारा जारी विज्ञप्तिमा यो कुरा उल्लेख छ।
बारा जिल्ला सभापति यादवमाथि चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको उजुरी परेपछि समितिले गत वैशाख ३० गते पाँच दिने स्पष्टीकरण सोधेको थियो। तोकिएको समयमा जवाफ नआएपछि जेठ १२ गते पुनः तीन दिनको समय दिई स्पष्टीकरण मागिएको थियो। यादवले दोस्रोपटक पनि स्पष्टीकरण बुझाएनन्।
स्पष्टीकरणको उपेक्षा गरेपछि समितिले थप अनुसन्धान गरी अन्तिम निर्णयमा पुग्नुपर्ने ठहर गर्यो। यादव पदमै रहँदा अनुसन्धान प्रभावित हुन सक्ने भन्दै कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (८) (ङ) तथा नियमावली, २०७६ को नियम २८ (३) बमोजिम अन्तिम निर्णय नहुन्जेलसम्मका लागि उनलाई जिल्ला सभापति पदमा काम गर्न नपाउने गरी निलम्बन गरिएको छ।
पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा स्पष्टीकरण सोधिएका बारा जिल्ला कार्यसमितिका उपसभापति अमिरीलाल राउत (पाल) लाई समितिले सफाइ दिएको छ। वैशाख १६ गते सोधिएको स्पष्टीकरणको जवाफ राउतले जेठ १० गते पेस गरेका थिए। समितिको अध्ययन र जाँचबुझ गर्दा राउतको जवाफ सन्तोषजनक देखिएपछि उनलाई आरोपबाट सफाइ दिने निर्णय भएको हो।
सर्लाही जिल्ला प्रतिनिधिसभा क्षेत्र नम्बर २ का तीन प्रदेशसभा सदस्यहरूलाई पदीय जिम्मेवारी अनुसार कार्य गर्न निर्देशन दिइएको छ। २०८२ फागुनको निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गरेको आरोप लागेका प्रदेशसभा सदस्यहरू सकुन्ती देवी महरा, कौशल किशोर राय र जंगीलाल रायले आफूमाथिका आरोप निराधार रहेको भन्दै गत वैशाख २१ गते स्पष्टीकरण बुझाएका थिए।
उनीहरूको स्पष्टीकरणपछि समितिले आगामी दिनमा गुनासो नआउने गरी सजगताका साथ पार्टीको विधान र नियमावलीप्रति प्रतिबद्ध रही काम गर्न तीनै जना प्रदेशसभा सदस्यहरूलाई निर्देशन दिएको छ।
