NM Khabar 11 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

प्रतिनिधिसभा नियमावलीविरुद्ध कांग्रेस सर्वोच्चमा, विवादित प्रावधान खारेजको माग

नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावली, २०८३ का केही प्रावधान संविधानसँग बाझिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ। नियमावलीका नियम १४०(११) र २५९ ले संविधानको धारा २७४(८) सँग बाझिएको, नियमावलीलाई ऐनभन्दा माथिको हैसियत दिएको र राष्ट्रिय सभाको अधिकारक्षेत्रमा हस्तक्षेप गरेको कांग्रेसको दाबी छ। सर्वोच्चले आगामी साउन ३१ गते संवैधानिक इजलासमा पेशी तोकेको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
11 July 2026, 5:32 am १ मिनेट पढाइ
आकार:
कांग्रेस सर्वोच्च अदालत रिट
Share:

नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावली, २०८३ का केही प्रावधान संविधानसँग बाझिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ।

शुक्रबार दर्ता भएको रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालतले आगामी साउन ३१ गते संवैधानिक इजलासमा पेशी तोकेको छ।

नियमावलीका नियम १४०(११) र २५९ संविधानको धारा २७४(८) सँग बाझिएको, नियमावलीलाई ऐनभन्दा माथिको हैसियत दिइएको तथा राष्ट्रिय सभाको संवैधानिक अधिकारक्षेत्रमा हस्तक्षेप गरिएको दाबीसहित कांग्रेसले ती प्रावधानहरू बदर गरी कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेको छ।

राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलकी नेता कमलादेवी पन्त, प्रमुख सचेतक पदमबहादुर परियार, प्रतिनिधिसभामा संसदीय दलका उपनेता अभिषेक प्रताप शाह तथा प्रमुख सचेतक बासना थापाले संयुक्त रूपमा रिट दर्ता गराएका हुन्।

प्रतिनिधिसभा नियमावली, २०८३ गत जेठ १७ गते कांग्रेसलगायतका विपक्षी दलहरूको विरोध र नाराबाजीबीच बहुमतका आधारमा पारित भएको थियो। कांग्रेसले मस्यौदामा रहेका केही प्रावधानमा थप छलफल आवश्यक भन्दै समितिमा पठाउन माग गरेको थियो।

तर सभामुख डोलप्रसाद अर्यालले मस्यौदालाई पुनः समितिमा पठाउन आवश्यक नरहेको बताउँदै पारित प्रक्रिया अघि बढाएका थिए। उक्त मस्यौदा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको संयोजकत्वमा रहेको समितिले तयार पारेको थियो।

रिटमा प्रतिनिधिसभा, संघीय संसद् सचिवालय, सभामुख डोलप्रसाद अर्याल, मस्यौदा समिति संयोजक गणेश पराजुली तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई विपक्षी बनाइएको छ।

कांग्रेसले संविधानविपरीतका नियमावलीका प्रावधानहरू बदर गरी कार्यान्वयन रोक्न सर्वोच्च अदालतसँग माग गरेको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार