काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलाको दोस्रो दिन शनिबार विभिन्न राजनीतिक, आर्थिक, सांगठनिक तथा विधानसम्बन्धी प्रतिवेदन पेस हुने भएका छन्। भेलाको मुख्य उद्देश्य पार्टीको आगामी दिशा, संगठन सुदृढीकरण र समसामयिक राजनीतिक विषयमा साझा धारणा तय गर्नु रहेको छ।
शनिबार बिहान ९ बजेपछि सुरु हुने बन्दसत्रमा पूर्वउपसभापति विमलेन्द्र निधिको राजनीतिक प्रतिवेदन र नेता एनपी साउदको समसामयिक राजनीतिक प्रतिवेदन पेस गरिनेछ। त्यसैगरी, प्रकाशशरण महतले आर्थिक दृष्टिकोण, उमाकान्त चौधरीले सांगठनिक प्रस्ताव र रमेश लेखकले विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।
दिउँसो २ बजेपछि बन्दसत्रमा पेस भएका प्रतिवेदनमाथि विस्तृत छलफल हुनेछ। यस भेलाले नेपाली कांग्रेसको आन्तरिक राजनीति र भविष्यको मार्गनिर्देशनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
