NM Khabar 23 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

क्रियाशील सदस्यता नवीकरणमा असहयोग गर्ने वडा सभापतिको जिम्मेवारी खोस्यो कांग्रेसले

नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणमा असहयोग गर्ने करिब ५० जना वडा सभापतिको जिम्मेवारी खोसेको छ। सभापति गगन थापाले विधानअनुसार काम नगर्नेलाई जिम्मेवारीबाट हटाएर नयाँ व्यक्तिलाई जिम्मेवारी दिने प्रक्रिया सुरु भएको बताएका छन्। १५औं महाधिवेशनका लागि सबैले सदस्यता नवीकरण गर्नुपर्ने र २०८२ को नवीकरण मात्रै मान्य नहुने सभापति थापाको भनाइ छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
23 May 2026, 10:33 am १ मिनेट पढाइ
आकार:
Share:

नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणमा असहयोग गर्ने वडा सभापतिको जिम्मेवारी खोस्न थालेको छ। पार्टीको विधानअनुसार काम नगर्नेलाई कारबाही गरिने सभापति गगन थापाले बताए।

पार्टीले देशभर ‘जरा अभियान’ अन्तर्गत सदस्यता नवीकरण र अद्यावधिक गरिरहेको छ। यस क्रममा अहिलेसम्म झण्डै ५० जना वडा सभापतिलाई जिम्मेवारीबाट हटाइएको छ। उनीहरूको ठाउँमा वडा कार्यसमितिमै रहेका अन्य सदस्यलाई जिम्मेवारी दिइएको छ।

सभापति थापाले सुनसरीको लौकहीमा आयोजित भेलामा करिब ५० जना वडा सभापतिको जिम्मेवारी खोसेर नयाँ साथीहरूलाई क्रियाशील सदस्यतासम्बन्धी काम गर्न जिम्मेवारी सुम्पिएको पुष्टि गरे। ‘मैले हिजोमात्रै निर्णय गरेर आइसकेँ,’ उनले भने।

थापाले जिम्मेवारी खोसिए पनि ती वडा सभापतिको पद यथावत रहने स्पष्ट पारे। ‘वडा सभापतिहरू वडा सभापति नै हुनुहुन्छ, उहाँको पद–सद केही गर्ने होइन,’ उनले भने, ‘तर, क्रियाशील अद्यावधिकको जिम्मा मैले अर्को साथीलाई दिइसकेँ।’ पार्टीको विधानले आफूलाई यस्तो अधिकार दिएको उनको भनाइ थियो।

थापाले सदस्यता नवीकरणलाई ‘अद्यावधिक’ भन्नु शब्दको चयनमा गल्ती भएको स्वीकारे। ‘यसलाई अद्यावधिक भन्ने कुरा बेकार भनिएछ कि भन्ने लागेको छ,’ उनले भने। २२ वैशाखमा डा. शेखर कोइरालासँगको भेटमा पनि यस विषयमा कुरा भएको र शब्दको चयनमा सुधार गर्नुपर्ने बताएको उनले उल्लेख गरे।

उनले पार्टीले सदस्यता नवीकरण गर्दा आवश्यक तथ्याङ्क अनिवार्य बुझाउनुपर्ने निर्णय गर्नुपर्ने धारणा राखे। ‘नवीकरणको धारणा निलम्बन गर्दिनँ तर, नवीकरण गर्दा यो–यो तथ्याङ्क अनिवार्य बुझाउनु पर्छ भनिदिनुपर्ने रहेछ,’ उनले भने।

१५औं महाधिवेशनका लागि सबै नेता–कार्यकर्ताले सदस्यता अद्यावधिक गर्नुपर्नेमा जोड दिँदै थापाले २०८२ सालमा गरिएको नवीकरण १५औं महाधिवेशनका लागि मान्य नहुने बताए। ‘प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ,’ उनले भने।

शनिबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै सभापति थापाले पार्टीको सदस्यता नवीकरणको विषयमा कुनै भ्रम भए त्यसलाई हटाउन छलफलका लागि आफू तयार रहेको बताए। उनले पार्टीको केन्द्रीय कार्यालयले सदस्यहरूको विवरण राख्न नपाउने भन्ने नहुने र यसमा असहमति राख्नुपर्ने कुनै कारण नभएको स्पष्ट पारे।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार