प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख देवप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक निश्कल राईले सरकारलाई जवाफदेही बनाउने प्रयासमा सभामुखको साथ नमिलेको आरोप लगाएका छन्।
राईले नीति तथा कार्यक्रमको सन्दर्भमा प्रधानमन्त्रीको जवाफ माग्ने लगायतका विषयमा सरकारलाई सदनप्रति उत्तरदायी बनाउन विपक्षी दलले पटकपटक प्रयास गरेको स्मरण गराए। ‘यसमा सम्माननीय सभामुख महोदयको हामीलाई साथ मिलेन, सरकारले टेरेन,’ उनले भने।
उनले पछिल्लो केही बैठकदेखि श्रम संस्कृति पार्टीले सरकारको जवाफदेहीता खोज्दै प्लेकार्ड प्रदर्शन गरिरहेको र सभामुखले त्यसलाई अमर्यादित भनेको विषयमाथि पनि प्रश्न उठाए। ‘सभामुख महोदय, यहाँ बिर्सन नहुने एउटा प्रसंग उल्लेख गरौं। आज सत्तामा भएको दल हिजो प्रतिपक्षमा थियो। सरकारको जवाफदेहीता खोज्दै निलो स्कार्फ घाँटीमा बाँधेर वेल घेरेको थियो,’ राईले विगतको स्मरण गराए।
त्यसबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वेलमा पुगेर बसेर पुस्तक पढ्ने जस्ता काम गरेको स्मरण गर्दै राईले प्रश्न गरे, ‘त्यसबेला सभामुखको आसन प्रतिपक्षको बेन्चमा थियो। मेरो प्रश्न, आफैँले गरेको त्यो कदम संसदीय र मर्यादित अनि अहिले प्रतिपक्ष दलको प्लेकार्ड कसरी अमर्यादित?’ कांग्रेसको बुझाइमा रास्वपाको त्यो कार्य पनि गलत थियो र अहिलेको प्लेकार्ड प्रदर्शन पनि गलत र अमर्यादित नै छ।
राईले सदनको मर्यादा राख्ने जिम्मेवारी सभामुखको भए पनि त्यसको केन्द्रविन्दुमा सरकार हुनुपर्ने बताए। ‘सरकारलेनै मर्यादा कायम गर्नुपर्ने हो। तर, सरकार र प्रधानमन्त्रीले सदनलाई देखि नसहने! सदन भनेसी एलर्जी नै हुने?’ उनले प्रश्न गरे।
उनले सरकार परम्परा भत्काउँदै व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका सबैतिर हस्तक्षेप गर्दै हिँडेको र ‘क्रमभंगता’ शब्दमा रमाएको आरोप लगाए। ‘अनि, त्यसमा सत्तारुढ दलका साथीहरू रफू लगाउँदै हिँड्नुभएको छ,’ उनले भने।
राईले सदनमा जे भइरहेको छ, त्यो सत्ताले छाती चौडा बनाएर ‘क्रमभंगता’ गरेका छौं भन्दै हिँड्दाको परिणाम भएको बताए। ‘जुन दिनसम्म संसदीय व्यवस्था र अभ्यासलाई अंकको दम्भले लल्कारिन्छ, अनि सदन कसरी मर्यादित हुन्छ?’ उनको प्रश्न छ।
यस्तो अवस्थामा सभामुख जिम्मेवार हुनुपर्ने उनको आग्रह छ। ‘सदनको अभिभावक तपाईं हो, सदनको गरिमामा एक इन्च तलमाथी हुन्छ भने त्यो हजुरकै प्रतिष्ठासँग जोडिन्छ,’ उनले भने।
उनले सभामुखले ‘रुलिङ’ गरेर दुई तिहाई बहुमतको दम्भ देखाउने प्रधानमन्त्री र सरकारलाई सदनप्रति जवाफदेही बनाउन नसक्दासम्म हिजो निलो स्कार्फ बाँधेर विरोध गर्ने र आज प्लेकार्ड प्रदर्शन गर्ने जस्ता कार्यशैली नरोकिने बताए। ‘बेलैमा सभामुख महोदय र सरकारको ध्यान जाओस्,’ उनले भने।
