बागमती प्रदेशले पाँच समस्याग्रस्त सहकारीका १,७६६ साना बचतकर्तालाई ४ करोड १५ लाख रुपैयाँ फिर्ता गर्न सुरु गरेको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बेइमानी गर्ने सहकारी सञ्चालकलाई कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।
मुख्यमन्त्री बानियाँले हालको समस्या समाधानपछि नयाँ समिति गठन गरी हस्तान्तरण गरिने बताए। उनले महिला, कृषि र केही बचत तथा ऋण सहकारी राम्रोसँग चलेको उल्लेख गर्दै मन र बचनले जनताको हितमा काम गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘बेइमानी गर्ने सहकारी सञ्चालकलाई कानुन बमोजिम कारबाही हुन्छ, ऋण उठ्ने आधारमा प्रभावकारी कदम चालिन्छ, पैसा तिर्ने मनस्थिति बनाउने ऋणीहरूलाई सहयोग गर्न तत्पर छौँ।’
समस्याग्रस्त घोषित पाँच सहकारीका साना बचतकर्तालाई १० हजारदेखि ५० हजारसम्म रकम फिर्ता गरिएको छ। प्रदेशले सिभिल बचत तथा ऋण सहकारी संस्था (सोल्टिमोड), दर्शन बचत तथा ऋण सहकारी संस्था (कीर्तिपुर), सुमेरु बचत तथा ऋण सहकारी संस्था (पुल्चोक), नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था (सामाखुसी) र लालीगुँरास बचत तथा ऋण सहकारी संस्था (खुसीबु) लाई समस्याग्रस्त घोषणा गरेको थियो।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले साना बचतकर्ताको अधिकतम रु एक लाखसम्मको बचत रकम फिर्ताको सुरुवात गरेको छ। यस क्रममा एक हजार ७६६ बचतकर्तालाई चार करोड १५ लाख फिर्ता गरिने समितिका अध्यक्ष शिवप्रसाद सिग्देलले बताए। कार्यालयले ऋणीबाट नौ करोड ५४ लाख उठाएकामा गम्भीर बिरामीलाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिने जनाएको छ।
