दैलेखको जलजले क्षेत्रमा ११२.१ अर्ब घनमिटर प्राकृतिक ग्यासको विशाल भण्डार रहेको प्रारम्भिक अध्ययनले पुष्टि गरेको छ।
बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको १०० दिने उपलब्धि प्रतिवेदनले यसको व्यावसायिक उपयोगबाट ऊर्जा र कृषि क्षेत्रमा ठूलो सम्भावना औंल्याएको छ।
अध्ययनले यो ग्यास भण्डारबाट २०० मेगावाट विद्युत उत्पादन गर्न सकिने देखाएको छ। दैनिक २ हजार २०० टन युरिया मल उत्पादनको सैद्धान्तिक आधार पनि तयार भएको छ। यसले किसानहरूको मल अभावको समस्या समाधान गर्नेछ।
यसका अतिरिक्त, सवारी इन्धनका रूपमा प्रयोग हुने सीएनजी र पीएनजी ग्यास उत्पादनको समेत प्रबल सम्भावना प्रतिवेदनमा उल्लेख छ।
यद्यपि, परियोजनालाई अगाडि बढाउन ठूलो लगानी र भौतिक पूर्वाधारको विकास प्रमुख चुनौतीका रूपमा सरकारले औँल्याएको छ।
सरकारले यस परियोजनालाई व्यवस्थित रूपमा अगाडि बढाउन विस्तृत प्राविधिक तथा आर्थिक सम्भाव्यता अध्ययनलाई तीव्रता दिने कार्ययोजना बनाएको छ।
साथै, आवश्यक प्राविधिक जनशक्ति विकासका लागि विश्वविद्यालयहरूसँग सहकार्य गर्ने र क्षेत्रगत राष्ट्रिय मापदण्ड निर्धारण गर्ने कार्यलाई पनि प्राथमिकता दिइने प्रतिवेदनमा उल्लेख छ।
