सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कसियागञ्जमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओम प्रकाश महता र जय प्रकाश महताका अभिभावक तथा गृह मन्त्रालयबीच शुक्रबार सात बुँदे सहमति भएको छ। गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको यो सहमतिपछि मृतकको अन्तिम संस्कार दिउँसो २ बजे सम्पन्न गर्ने कार्यतालिका बनेको छ।
सहमतिअनुसार, दुवै मृतकलाई नेपाल सरकारबाट सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाइनेछ। प्रत्येक मृतक परिवारलाई नेपाल सरकारको तर्फबाट १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइनेछ।
घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया तत्काल अगाडि बढाउने सहमति भएको छ। देवानगञ्ज गाउँपालिका-३ स्थित मदरसाको कानुनी हैसियत र यससँग सम्बन्धित विषयमा पनि आवश्यक छानबिन तत्काल सुरु गरिनेछ।
यसबाहेक, प्रत्येक मृतक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइनेछ। घटना अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरू प्रचलित कानुनबमोजिम यथाशीघ्र कार्यान्वयन गरिनेछ।
मृतकद्वयको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गरिनेछ। सहमति पत्रमा पीडित परिवारका तर्फबाट ओम प्रकाश मेहताका अभिभावक र जय प्रकाश मेहताका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन् भने सरकारको तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन्।
