धनुषा जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षबाट शौचालयको भेन्टिलेसन तोडेर भागेका ९ जना अभियुक्तलाई जिल्ला अदालत धनुषाले एक वर्ष कैद सजाय सुनाएको छ। न्यायाधीश शुभाषबाबु पुरीको इजलासले थुनुवा कक्षबाट भागेको कसुरमा दोषी ठहर गर्दै एक नाबालकसहित सबै प्रतिवादीलाई कैद सजाय तोकेको हो।
अदालतका श्रेस्तेदार दिपक पोखरेलका अनुसार प्रहरी हिरासतबाट फरार भएको अभियोगमा सबै प्रतिवादीलाई एक वर्ष कैद हुने फैसला गरिएको छ। उनीहरूमाथि यसअघि दर्ता भएका अन्य मुद्दाको हकमा भने सम्बन्धित अभियोगअनुसार छुट्टाछुट्टै फैसला भइसकेको वा हुने प्रक्रियामा रहेको उनले जानकारी दिए।
यो घटना २०८१ साल असोज ६ गते रातिको हो। धनुषा प्रहरीको हिरासतमा रहेका थुनुवाहरूले शौचालयको भेन्टिलेसन तोडेर भाग्ने योजना बनाएका थिए। करिब १० फिट माथि रहेको भेन्टिलेटरमा जडान गरिएको रड काटेर उनीहरू फरार हुन सफल भएका थिए।
फरार भएकामध्ये एक जना श्याम झा केही समयमै पक्राउ परे पनि जिल्ला प्रहरी कार्यालय धनुषाले व्यापक खोजी अभियान सञ्चालन गरी असोज ८ गतेभित्रै बाँकी सबै अभियुक्तलाई पुनः नियन्त्रणमा लिएको थियो। फरार हुनेहरूमा धनुषाका विभिन्न स्थानीय तहका साथै सिरहाका एक अभियुक्तसमेत गरी कुल ९ जना थिए।
उनीहरूमध्ये अमित कुमार झा, रञ्जीत मण्डल, रोशन मण्डल, भास्कर यादव र विशाल मुखिया लागूऔषध सम्बन्धी मुद्दाका थुनुवा थिए भने सुमित मेस्तर, मनिष मण्डल, विक्की कार्की र श्याम झा अभद्र व्यवहार मुद्दामा हिरासतमा थिए।
घटनापछि उनीहरूविरुद्ध थुनुवा कक्षबाट फरार भएको कसुरमा छुट्टै मुद्दा दर्ता गरिएको थियो। सोही मुद्दामा सुनुवाइपछि अदालतले शुक्रबार अन्तिम फैसला सुनाएको हो। सयौं सुरक्षाकर्मीको निगरानी रहेको प्रहरी हिरासतबाट थुनुवाहरू कसरी भाग्न सफल भए भन्ने विषय भने अझै रहस्यमय बनेको छ।
घटनापछि सुरक्षा व्यवस्थामाथि प्रश्न उठे पनि त्यसको विस्तृत छानबिन र जिम्मेवारी निर्धारणको प्रक्रिया अहिलेसम्म टुंगोमा पुग्न सकेको छैन। प्रहरी हिरासतको सुरक्षामा भएको कमजोरीबारे स्पष्ट निष्कर्ष सार्वजनिक नभएकाले घटनाले विभिन्न शंका र जिज्ञासा उत्पन्न गरिरहेको छ।
