धनुषाको धनौजी नाकाबाट स्रोत नखुलेको १३ लाख ६५ हजार नेपाली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरी चौकी धनौजीको गस्ती टोलीले भारतबाट गौरदहीतर्फ आउँदै गरेको बीआर ३२बीबी १८९९ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा उक्त रकम बरामद गरेको हो।
पक्राउ पर्नेमा भारत बिहारको मधुवनी जिल्ला, ग्राम खैनाका ३५ वर्षीय राधाकान्त बयाग्रे छन्। प्रहरी सहायक निरीक्षक राजकुमार मिश्रको कमान्डमा खटिएको टोलीले शंकास्पद गतिविधि देखेर मोटरसाइकल रोकेको थियो।
प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार बयाग्रेको साथबाट कपडाको पेटीभित्र लुकाई कम्मरमा बाँधेर राखेको अवस्थामा नेपाली नगद बरामद गरिएको हो।
प्रहरीले बरामद रकमको स्रोत, कहाँबाट प्राप्त भयो, कहाँ लैजान लागिएको थियो र यसको अन्य कारोबार वा व्यक्तिसँग सम्बन्ध छ कि छैन भन्ने विषयमा अनुसन्धान सुरु गरेको छ। अभियुक्तमाथि वित्तीय कारोबारसम्बन्धी कसुरमा मुलुकी अपराध संहिता, २०७४ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत अनुसन्धान अघि बढाइएको छ।
