नवलपरासी-बर्दघाट सुस्ता पूर्वको शहीद स्मृति अस्पतालमा करिब १२ करोड रुपैयाँ बराबरका हेमोडायलाइसिस मेसिनहरू प्रयोगविहीन बनेका छन्। रोटरी क्लब धुलिखेलले सरकारसँगको समन्वयमा अस्पताललाई उपलब्ध गराएका यी उपकरणहरू भौतिक पूर्वाधार र प्राविधिक जनशक्तिको अभावमा थन्किएका हुन्।
मेसिन जडानका लागि अस्पतालमा पर्याप्त ठाउँ छैन। तिनीहरू सञ्चालन गर्न सक्ने दक्ष जनशक्ति पनि छैन। यसले गर्दा बिरामीहरूले आवश्यक उपचार पाउन नसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष DB बहादुर थापाले बताए।
यस्तै, बुटवलस्थित हर्ट अस्पतालले केही महिनाअघि सुनवल नगरपालिकालाई पाँचवटा डायलाइसिस मेसिन दिएको थियो। स्थानीय सरकारले १५ शय्याको अस्पताल निर्माण गरिरहेको भए पनि मेसिनहरू हालसम्म प्रयोगमा आउन सकेका छैनन्।
रामग्रामस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा पाँचवटा मेसिनबाट १७ जना मिर्गौला रोगीले डायलाइसिस सेवा लिइरहेका छन्। बिरामीको सङ्ख्या बढेकाले सीमित क्षमताका कारण धेरै बिरामीले जिल्ला बाहिर जानुपर्ने बाध्यता छ।
अस्पतालका प्रबन्धक सीमा कफ्लेले प्रयोगविहीन मेसिनहरू सञ्चालनमा ल्याउन सके बिरामीहरूको उपचारमा सहजता आउने बताइन्।
