डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा आइतबार आएको पहिरोले ५६ वर्षीया आनन्दी विकको घटनास्थलमै ज्यान लियो।
पहिरोमा परी ६ जना घाइते भए। पाँच जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार जारी छ। एक गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत् सुर्खेत पठाइएको छ।
प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर पाण्डेयका अनुसार आइतबार राति १ बजेदेखि भीषण वर्षा भयो। बिहान ३ बजे गाउँको सिरानबाट गेग्रान र लेदोसहितको बाढी पस्यो। बाढीले गाउँका ५० भन्दा बढी घर र ज्ञानोदय आधारभूत विद्यालय समेत उच्च जोखिममा पारेको छ।
उनका अनुसार १५ घरमा लेदोसहितको बाढी पसेको छ। घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जनप्रतिनिधि र स्थानीयवासी उद्धार तथा राहत कार्यमा जुटेका थिए।
जिल्ला प्रशासन प्रमुखसहितको विपद् व्यवस्थापन टोली निरीक्षणका लागि आउँदै गरेको पाण्डेयले जानकारी दिए। उनले कालो बादल अझै रहेकाले थप वर्षा भई जोखिम बढ्न सक्ने चेतावनी दिएका छन्।
बाढीले क्षति पुर्याएका घरका नागरिकलाई तत्कालका लागि आफन्तको आश्रयमा बस्न सुझाव दिइएको छ। पालिकाले बढी क्षति भएका प्रतिपरिवारलाई २० हजार रुपैयाँ नगद दियो। सामान्य क्षति भएका घरलाई १० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ।
प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले प्रदेश र संघ सरकारसँग थप सहयोगका लागि अपिल गरे। असार मसान्तका कारण पालिकाको खातामा पर्याप्त रकम छैन।
