NM Khabar 23 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

डोल्पामा हावाहुरीले विद्यालयको छाना उडायो, चौरमा पढाइको बाध्यता

डोल्पाको मन्मा आधारभूत विद्यालयको छाना हावाहुरीले उडाउँदा करिब ३ लाखको क्षति भएको छ। विद्यालय भवन र सोलार प्रणालीमा असर परेको छ। विद्यार्थीलाई खुला चौरमा पढाउनुपर्ने बाध्यता आएको छ।
Maya Thapa
Maya Thapa
23 May 2026, 2:33 pm १ मिनेट पढाइ
आकार:
Share:

डोल्पाको ठूलीभेरी नगरपालिका–२ कुम्लीमा रहेको मन्मा आधारभूत विद्यालयको छाना हावाहुरीले उडाएपछि विद्यार्थीलाई खुला चौरमा पढाउनुपर्ने बाध्यता छ। शुक्रबार राति आएको हावाहुरीले विद्यालयका दुई भवनको जस्तापाताको छाना उडाएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीका अनुसार हावाहुरीले नयाँ दुई कोठे र पुरानो एक कोठे भवनको छाना उडाएको छ। उडेका छाना नजिकैको स्याउ बगैंचामा पुग्दा किसानको बालीमा समेत क्षति पुगेको छ।

हावाहुरीले विद्यालयको सोलार प्रणालीमा पनि क्षति पुर्‍याएको छ। छाना र सोलार प्रणाली गरी करिब ३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको भण्डारीले बताए।

भवन अभावले पहिलेदेखि नै पठनपाठनमा समस्या थियो। अब छाना उडेपछि अवस्था झन् जटिल बनेको छ। साना बालबालिकालाई खुला चौरमा पढाउनु जोखिमपूर्ण र कठिन हुने भण्डारीको भनाइ छ।

वडाध्यक्ष कमलबहादुर क्षेत्रीले तत्काल वडाको विपद् कोषबाट त्रिपालको व्यवस्था गरी पठनपाठन सञ्चालन गरिने बताए। दीर्घकालीन समस्या समाधानका लागि नगरपालिका, सामाजिक विकास कार्यालय र जिल्ला प्रशासन कार्यालयसँग सहयोगका लागि पहल गरिने उनले जानकारी दिए।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार