ताप्लेजुङको दोभान बजारमा छ वर्षको अवधिमा दोस्रो पटक ठूलो आगलागी भएको छ। बिहीबारको आगलागीले १० घर र १७ पसल जलेर करिब रु १४ करोड ५० लाख बराबरको क्षति पुर्याएको छ।
पहिलो आगलागीबाट सर्वस्व गुमाएका दोभानवासी लयमा फर्किँदै गर्दा पुनः आगलागीले उनीहरूको बिचल्लीमा पारेको छ। घर तथा व्यवसाय गुमाएका परिवार अहिले आफन्त तथा छरछिमेकीको आश्रयमा छन्। केही पीडित भग्नावशेष पन्छाएर पुनर्निर्माणको तयारीमा जुटेका छन्।
८६ वर्षीय स्यामलाल खरेलले पटकपटकको आगलागीले ठूलो पीडा दिएको गुनासो गरे। ‘व्यापारमा लगानी गर्दागर्दै सखाप भयो, अब कसरी बस्ने, कता जाने ?’ उनले भने।
अग्निपीडित चन्द्र पौडेलले छोटो अवधिमा दोस्रोपटक आगलागीको चपेटामा पर्दा पुनःस्थापनाको चिन्ता व्यक्त गरे। ‘सरकारले दिने सामान्य राहतले समस्या समाधान हुँदैन। बिनाब्याज ऋणको व्यवस्था गरिदिए हामी पुनःस्थापित भएर साँवा फिर्ता गर्छौँ। नत्र आफैँले गर्नसक्ने उपाय छैन’, पौडेलले भने।
उद्योग वाणिज्य सङ्घ दोभान शाखाका अध्यक्ष हरि काफ्लेले नदीकिनारमा बजार भएकाले बैंकहरूले लगानी डुब्ने जोखिम देखाउँदै ऋण दिन आनाकानी गर्ने गरेको गुनासो गरे।
जिल्ला विपद् व्यवस्थापन समिति, उद्योग वाणिज्य सङ्घ, रेडक्रस सोसाइटी, मेरिङ्देन गाउँपालिका लगायतका निकायले तत्काल राहत उपलब्ध गराएका छन्। पीडितले तत्कालको राहतभन्दा दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारको विशेष सहयोग मागेका छन्।
यसअघि २०७७ फागुनमा भएको आगलागीले ४९ घर जलेका थिए। त्यसमा करिब रु ४० करोडभन्दा बढीको क्षति भएको थियो। दोभान बजारमा बारम्बार हुने आगलागी नियन्त्रणका लागि दीर्घकालीन योजना आवश्यक छ। पछिल्लो समय बिजुलीका कारण आगलागीका घटना बढ्दै गएकाले विद्युतीय सामान र जडानबारे सचेतना फैलाउनुपर्ने स्थानीयको भनाइ छ।
