अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण आज संघीय संसद्मा पेश गर्नेछन्। प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बस्नेछ।
प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाबाट उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ टेबुल गरिनेछ। अर्थमन्त्री वाग्लेले आर्थिक सर्वेक्षण पेश गर्नेछन्।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
राष्ट्रियसभा बैठकमा पनि अर्थमन्त्री वाग्लेले आर्थिक सर्वेक्षण पेश गर्नेछन्। उनले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि पनि प्रस्ताव प्रस्तुत गर्नेछन्।
संवैधानिक व्यवस्था अनुसार, हरेक वर्ष जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट पेश गर्नेछन्। बजेट पेश गर्नुअघि सरकारले आर्थिक सर्वेक्षण पेश गर्नुपर्छ।
