अविरल वर्षाले मुलुकका आठ राजमार्ग ठप्प पारेको छ। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार पर्साको ठोरी गाउँपालिका–२ मा ढेडुखोला र अन्य खहरे खोलामा आएको बाढीले अवरुद्ध भएको हुलाकी राजमार्ग भने दिउँसोदेखि सञ्चालनमा आएको छ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक÷सिन्धुलीको बिपी राजमार्गमा सम्पूर्ण सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। सोमबार बिहान ललितपुरको बाग्मती गाउँपालिका–३ मा पाङदुर, टाकुर्चे र भालु खोलामा पहिरो गई कान्तिलोकपथ सडकखण्ड अवरुद्ध भएको छ।
यस्तै, असार २३ गते इलामको राजदुवालीस्थित मेची राजमार्ग वर्षाले हिलाम्मे भएपछि अवरुद्ध भएको छ। वैकल्पिक बाटो भने रहेको छ। असार २७ गते कास्कीको मादी गाउँपालिका–२ ज्याम्दोस्थित पोखरा–ताङतिङ भित्री सडकखण्डमा ग्याबिन पर्खाल भत्किँदा बाटो अवरुद्ध भएको छ।
अर्घाखाँचीको पाणिनी–२ ढुङ्गेखोलास्थित सालझन्डि ढोरपाटन सडकखण्डमा बाटोमाथिबाट ढुङ्गा खस्दा अवरुद्ध भएको छ। सोमबार गुल्मीको कालीगण्डकी–४ पुर्तिघाटस्थित कालीगण्डकी करिडोर सडकखण्ड पातुखोलाको बहाव बढेपछि अवरुद्ध भएको छ।
सोमबार कास्कीको मादी–४ भैसेस्थित मध्यपहाडी लोकमार्गमा ओख्रेभिरबाट झरेको लेदो, पहिरो र मादी खोलाको पानीले बाटो अवरुद्ध भएको छ। यसैगरी, गुल्मीको मुसिकोट–५ तल्लो फाँटस्थित रिडी–वामी सडकखण्डमा ठाँडो गिरु खोलाको बाढीले बाटो कटान गरी लगेपछि अवरुद्ध भएको छ।
