यस वर्ष युरोपमा अत्यधिक गर्मीले ५० हजार ३९१ जनाको ज्यान लियो, जसमध्ये करिब दुई तिहाइ मृत्यु जलवायु परिवर्तनका कारण भएको नयाँ अध्ययनले देखाएको छ।
अनुसन्धानकर्ताहरूले जुनदेखि अगस्टसम्म युरोपका ८५४ सहरमा गरेको अध्ययनअनुसार ३२ हजार ६१९ जनाको मृत्यु जलवायु परिवर्तनले बढाएको तापक्रमसँग सम्बन्धित थियो। यो सन् २०२२ को गर्मीयाममा भएको २९ हजार ४८० मृत्युको तुलनामा ७१ प्रतिशत बढी हो।
इम्पेरियल कलेज लन्डनकी जलवायु वैज्ञानिक तथा अध्ययनकी प्रमुख लेखक क्लेयर बान्र्सका अनुसार जीवाश्म इन्धन जलाउँदा बढेको तापक्रमले सामान्य असहज गर्मीलाई ज्यानै लिन सक्ने अवस्थामा पुर्याएको छ। युरोपको तापक्रम औद्योगिक युगअघिको तुलनामा २.५ डिग्री सेल्सियस बढिसकेको छ। यस गर्मीयाममा केही सहरको तापक्रम सामान्यभन्दा १२ डिग्री सेल्सियससम्म बढी पुगेको थियो।
गर्मीका कारण सबैभन्दा बढी मृत्यु इटाली, फ्रान्स, स्पेन र जर्मनीमा भएको थियो। मृतकमध्ये आधाभन्दा बढी ८५ वर्ष वा सोभन्दा बढी उमेरका थिए। अध्ययनका सहलेखक ग्यारीफलोस कोन्स्टान्टिनोडिसले २० देखि ४४ वर्ष उमेर समूहका ८०० भन्दा बढी व्यक्तिको पनि गर्मीका कारण मृत्यु भएको बताए।
अनुसन्धानकर्ताहरूले जलवायु परिवर्तन नभएको अवस्थाको कम्प्युटर नमूनालाई वास्तविक तापक्रम र मृत्युदरसँग तुलना गरेर प्रभाव आकलन गरेका थिए। अध्ययनअनुसार गर्मीसम्बन्धी मृत्युमध्ये जलवायु परिवर्तनको हिस्सा सन् २००० को दशकको सुरुआतमा ४५ प्रतिशत रहेकामा अहिले ६५ प्रतिशत पुगेको छ। अध्ययनमा युरोपको करिब ४० प्रतिशत जनसङ्ख्या मात्रै समेटिएकाले वास्तविक मृत्यु सङ्ख्या अझ बढी हुन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।
अनुसन्धानमा सहभागी नभएका विज्ञहरूले गर्मीको पूर्वचेतावनी प्रणाली, शीतलन सुविधामा समान पहुँच र जोखिममा रहेका मानिसलाई सहयोग गर्ने व्यवस्था विस्तार गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले गर्मीबाट तत्काल जोगिने उपायसँगै जलवायु परिवर्तनको मूल कारण बनेको जीवाश्म इन्धनको प्रयोग घटाउनुपर्ने बताए।
जलवायु परिवर्तनले मधेश प्रदेशका जिल्लामा पनि गम्भीर नकारात्मक प्रभाव पारेको छ, विशेषगरी कृषिमा। पानीका स्रोत सुक्न थालेकाले सिँचाइको अभाव बढेको छ भने नयाँ रोग तथा किराफट्याङ्ग्राको असर कृषि क्षेत्रमा देखिएको छ। पशुपालन व्यवसायमा पनि नकारात्मक असर परिरहेको छ, जसले उत्पादन लागत वृद्धि गरेको छ। मधेशमा अत्यधिक गर्मी (लु), जाडो (शीतलहर), सुक्खा वा बाढीको अवस्था दिनचर्या बनेको छ।
