भारतको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी विद्यालयमा जागिर खाने बालविकास सहजकर्ता मन्जु देवी बोहराविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
डडेल्धुराको आलिताल गाउँपालिका-५, श्री भगवती प्राथमिक विद्यालयमा कार्यरत बोहराले नियुक्ति प्रक्रियामा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको उजुरीमाथि अनुसन्धान भएको थियो।
अनुसन्धानबाट बोहराले भारतको उत्तर प्रदेशस्थित माध्यमिक शिक्षा परिषद्बाट सन् २०१० मा हाई स्कुल पास गरेको भनी पेश गरेका मार्कसिट, सर्टिफिकेट र माइग्रेसन प्रमाणपत्र नक्कली पाइएको छ।
नक्कली प्रमाणपत्रका आधारमा राष्ट्रसेवक बालविकास सहजकर्ता पदमा नियुक्ति पाई बोहराले पारिश्रमिक तथा भत्तासहित सरकारी लाभ लिइरहेकी थिइन्।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, बोहराको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिमको कसुर ठहरिएको छ। सोही कसुरमा ऐनको सोही दफा अनुसार कैद र जरिवानाको सजाय मागदाबीसहित मुद्दा दर्ता भएको छ।
