यस वर्ष मनसुन सक्रिय भएसँगै देशभर धान रोपाइँ तीव्र बनेको छ। विगतका वर्षझैं यसपटक किसानले रासायनिक मल अभावको समस्या झेल्नुपरेको छैन। असार १ देखि १९ गतेसम्म कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत कुल ४० हजार ५६९.२५ मेट्रिकटन रासायनिक मल किसानसम्म वितरण भइसकेको छ।
विगतका वर्षहरूमा धान रोपाइँको मुख्य याममै किसानले मल नपाएर सास्ती खेप्नुपर्ने अवस्था थियो। यसपटक मागअनुसार सहज रूपमा मल उपलब्ध गराइएको छ। सरकारको पूर्वतयारी र व्यवस्थित आपूर्ति प्रणालीले यो सम्भव भएको हो।
प्रधानमन्त्री कार्यालयकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले असार १५ गते एकैदिन करिब पाँच हजार मेट्रिकटन मल अवरोधबिना किसानसम्म पुर्याइनु सरकारी संयन्त्रको प्रभावकारिता र किसानप्रतिको जवाफदेहिताको उदाहरण भएको बताइन्।
वितरण गरिएको कुल मलमध्ये कृषि सामग्री कम्पनी लिमिटेडले २६ हजार ९९४.६५ मेट्रिकटन र साल्ट ट्रेडिङ कर्पोरेसनले १३ हजार ५७४.६० मेट्रिकटन वितरण गरेका छन्।
यस अवधिमा किसानले २३ हजार ४८२.४ मेट्रिकटन युरिया, १७ हजार ७४९ मेट्रिकटन डीएपी र दुई हजार ३३७ मेट्रिकटन पोटास मल प्राप्त गरेका छन्।
विगतमा राष्ट्रिय धान दिवस (असार १५) आसपास मलको माग अत्यधिक बढ्दा वितरण प्रणाली प्रभावित हुने गरेको थियो। यस वर्ष असारको सुरुआतमा दैनिक औसत बिक्री ८७६.४५ मेट्रिकटन थियो। असार १५ गते एकैदिन चार हजार ८७७.१५ मेट्रिकटन मल वितरण भएको सरकारी तथ्याङ्क छ।
कृषि अधिकारीहरूका अनुसार मागसँगै वितरण प्रणालीलाई समानान्तर रूपमा व्यवस्थित राखिएकाले एकैदिन झन्डै पाँच हजार मेट्रिकटन मल वितरण हुँदा पनि आपूर्ति शृङ्खला प्रभावित भएन।
विज्ञ दाहालले आगामी दिनमा पनि मल अभाव हुन नदिन प्रधानमन्त्री कार्यालयले निरन्तर अनुगमन र समन्वय गरिरहेको बताइन्।
सरकारले समयमै बजेट सुनिश्चित गर्नु, वैदेशिक खरिद प्रक्रिया अघि बढाउनु र डिपोहरूको नियमित अनुगमन गर्नुले यस वर्ष रासायनिक मलको मौज्दात पर्याप्त छ। यही व्यवस्थापनलाई निरन्तरता दिँदै बाँकी कृषि याममा पनि आवश्यक आपूर्ति र समन्वय कायम राख्ने सरकारको भनाइ छ।
