रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा सम्भावित सरुवा रोग तथा महामारी फैलिन नदिन सरकारले विशेष स्वास्थ्य निगरानी तथा प्रतिकार्य प्रणाली सक्रिय बनाएको छ।
प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावित क्षेत्रमा झाडापखाला, हैजा र ज्वरो जस्ता संक्रामक रोगको प्रकोप रोकथामका लागि विपद्-पश्चात् सरुवा रोग निगरानी तथा प्रतिकार्य योजना स्वीकृत गरी विशेष टोलीहरू कार्यक्षेत्रमा परिचालन गरिएको जानकारी दिएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको स्वास्थ्य संकटकाल तथा विपद् व्यवस्थापन इकाइ र स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले प्रभावित क्षेत्रमा संक्रामक रोग नियन्त्रणको नेतृत्व गरिरहेका छन्।
प्रधानमन्त्री शाहका अनुसार रोगको प्रारम्भिक पहिचान र रोकथामका लागि निगरानी, प्रकोप प्रतिकार्य व्यवस्थापन तथा विश्लेषण प्रणाली (सोरमास) सञ्चालनमा ल्याइएको छ।
फिल्ड इपिडेमोलोजी ट्रेनिङ प्रोग्रामबाट प्रशिक्षित जनशक्तिसहितका दुईवटा विशेष टोली र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहयोगमा थप मेडिकल निगरानी अधिकारीहरू फिल्डमा खटिएका छन्।
यसैबीच, पानीका स्रोतहरू दूषित हुनबाट जोगाउन र संक्रमण फैलिन नदिन नेपाली सेनाले प्रभावित क्षेत्रमा जिवाणु तथा प्रदूषण उन्मूलन अभियान तीव्र पारेको छ।
सेनाले जोखिमयुक्त बस्तीहरूमा स्वास्थ्य सतर्कता अपनाउन स्थलगत रूपमै माइकिङ गर्दै सचेतना फैलाइरहेको छ।
शारीरिक उपचारसँगै बाढीको त्रासले आघातमा परेका नागरिकहरूलाई मनोपरामर्श दिन स्वास्थ्यकर्मीको टोली र एम्बुलेन्सहरू तैनाथ गरिएको छ।
बाढीमा परी घाइते भएका कुल २९२ जनामध्ये हालसम्म १८२ जना डिस्चार्ज भइसकेका छन् भने बाँकीको स्वास्थ्य अवस्थामा सुधार भइरहेको प्रधानमन्त्रीले जानकारी दिए।
